काठमाडौं । विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेड र यसको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले सहयोग प्रदान गरेको छ ।
कम्पनीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत सहयोगको हात अगाडि बढाएको हो।
शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने निर्णय गरेको छ । यसअन्तर्गत बाढीबाट घर गुमाएका ११० घरधुरीलाई प्रति परिवार १०० बोराका दरले शिवम् ओ.पि.सि. सिमेन्ट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार र राहत कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस कठिन घडीमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावित नागरिकहरूको जीवन पुनस्र्थापनाका लागि शिवम् सिमेन्ट निरन्तर साथ र सहयोग गर्न प्रतिबद्ध छ ।’