काठमाडौं । हिमालयन बैंकका अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष सपथ ग्रहण गरेका हुन् ।
भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो। श्रेष्ठको राजीनामा स्वीकृत भएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई अध्यक्ष नियुक्त गरेको हो।
पूर्व मुख्यसचिव अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए। उनी नेशनल लाइफ इन्स्योरेन्सको प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा आएका थिए।
सरकारी सेवामा लामो समय काम गरेका अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनले नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
प्रशासनिक तथा सार्वजनिक व्यवस्थापनको लामो अनुभव भएका अर्याललाई बैंकको अध्यक्षको जिम्मेवारी दिइनुलाई संस्थागत सुशासन र रणनीतिक नेतृत्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
नयाँ अध्यक्षका रूपमा अर्यालले बैंकको रणनीतिक नेतृत्व, संस्थागत सुशासन तथा समग्र बैंकिङ गतिविधिलाई अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन्।