भोटेकोशी बाढी : ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला, प्रधानमन्त्री राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार, राहत र पुनःस्थापनाका काममा सरकार पूर्ण क्षमताका साथ परिचालित रहेको बताएका छन्।

विगत पाँच दिनदेखि देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको बताएका छन्। बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने काम प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका कारण अझै चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा नागरिकको जीवनरक्षा, खोजी, उद्धार, उपचार र राहतलाई सर्वोच्च प्राथमिकतामा राखेर सम्पूर्ण राज्य संयन्त्र परिचालन गरिएको बताएका छन्।

उनले आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाएका नागरिकको पीडाप्रति सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील रहेको उल्लेख गर्दै कुनै पनि बहाना नबनाई युद्धस्तरमा काम भइरहेको बताएका छन्।

‘नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौं,’ प्रधानमन्त्री शाहले भनेका छन्।

९ हजार ४३५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

उनका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाबीच पनि हवाई तथा स्थलमार्गमार्फत उद्धार कार्य तीव्र पारिएको छ। राहत तथा उद्धारका लागि आइतबार मात्रै थप ७२ सहित हालसम्म ३९४ उडान सञ्चालन भइसकेको छ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार र राहतका लागि सुरक्षाकर्मीका अतिरिक्त ठूलो संख्यामा स्वयंसेवकहरू पनि निरन्तर खटिरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढी प्रभावित विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारलाई समेत विशेष प्राथमिकतामा राखिएको छ। प्रधानमन्त्रीका अनुसार विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मात्रै हालसम्म २७९ जनाको उद्धार गरिएको छ।

रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। उक्त क्षेत्रमा नेपाली सेनासँगको समन्वयमा चिनियाँ र कोरियन विशेषज्ञ टोलीले पनि उद्धार तथा खोजी कार्य जारी राखेका छन्।

चिनियाँ टोलीले सुरुङभित्र करिब ३ किलोमिटरसम्म खोजी गरे पनि हालसम्म कुनै मानिस फेला पर्न नसकेको प्रधानमन्त्रीले बताएका छन्।

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धारका लागि ब्लास्टिङ

नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ कार्य अघि बढाइरहेका छन्। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर करिब २ गुणा ३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले उद्धार टोली सुरुङभित्र प्रवेश गरी मानिसहरूलाई बोलाएर प्रतिक्रिया लिने प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्रीको भनाइ छ।

त्यसपछि उद्धार कार्यलाई थप तीव्र बनाउँदै ठूला उपकरण परिचालन गर्ने, ब्लास्टिङ गर्ने र बनाइएको प्वाललाई थप फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।

नुवाकोटकै माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धार प्रयास जारी रहेको छ। त्यहाँ भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली खटिएको छ भने चिनियाँ विशेषज्ञ टोलीले पनि नेपाली सेनासँग समन्वय गरेर काम गरिरहेको छ।

चिलिमे, लाङटाङ र मैलुङ क्षेत्रमा पनि खोजी

रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँग समन्वय गरी भारतीय टोलीले रेकी गरेपछि पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धार प्याट्रोल सञ्चालन गरिरहेको छ। भारतीय टोलीले पनि नेपाली सेनासँगको समन्वयमा रेकी गरी पम्प तथा एस्काभेटर परिचालन गरेर थप उद्धार कार्य सुरु गरेको छ।

यसैगरी रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा हवाई रेकी गरी काम सुरु गरिसकेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

२६७ घाइतेको उद्धार, १५६ जना अस्पतालबाट डिस्चार्ज

बाढीका कारण घाइते भएका नागरिकको उद्धार तथा उपचारलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको छ।

प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रबाट २६७ जना घाइतेलाई उद्धार गरी स्थानीय अस्पतालसँगै काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूमध्ये हालसम्म १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेहरूको स्वास्थ्य अवस्थामा क्रमशः सुधार भइरहेको छ।

प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंबाट विभिन्न चिकित्सकसहितको टोली परिचालन गरिएको छ। बाढीका कारण प्रभावित तथा अवरुद्ध भएका स्वास्थ्य संस्थाको सेवा पनि क्रमशः पुनः सञ्चालन गर्ने काम जारी रहेको सरकारले जनाएको छ।

प्रधानमन्त्री राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी

बाढीपीडितका लागि आर्थिक सहयोग जुटाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ। प्रधानमन्त्री शाहका अनुसार नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग संकलन गरिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘उद्धार अनुरोध पोर्टल’मार्फत स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गरिएको उनले बताएका छन्।

प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा गरी ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ।

यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

संकलित रकमलाई कसरी प्रभावकारी, पारदर्शी र आवश्यकताका आधारमा खर्च गर्ने भन्नेबारे सरकारले छलफल गरिरहेको उनले बताएका छन्।

२६ वटा आश्रयस्थल र राहत वितरण केन्द्र सञ्चालनमा

बाढी प्रभावित नागरिकलाई अस्थायी बसोबास र राहत उपलब्ध गराउन रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

प्रधानमन्त्रीका अनुसार आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

देशभित्रबाट विभिन्न संघसंस्था, निजी क्षेत्र तथा नागरिकस्तरबाट सहयोग आउने क्रम जारी रहेको छ भने छिमेकी मुलुक भारत र चीनबाट उद्धार तथा राहत सामग्री पनि प्राप्त भएको सरकारले जनाएको छ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलन भएका राहत सामग्री हवाई र स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ।

मैथिल ब्यारेकबाट राहत सामग्री धादिङको बैरेनी प्रहरी कार्यालय तथा रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेकसम्म पुर्‍याइएको छ।

भण्डारण गरिएका राहत सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र बागमती प्रदेश सरकारको समन्वयमा प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

एडीबी, विश्व बैंक, अमेरिका र अष्ट्रेलियाको सहयोग

नेपालको यस विपद्मा अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको सरकारले जनाएको छ।

प्रधानमन्त्री शाहका अनुसार एसियाली विकास बैंकबाट बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा तथा अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको छ।

अष्ट्रेलिया सरकारले १० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने जनाएको छ भने एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीले बताएका छन्।

भारत सरकारबाट हालसम्म चार चरणमा गरी कुल ६८ दशमलव ५ टन मानवीय सहायता र अत्यावश्यक औषधि प्राप्त भएको छ।

चीन र अमेरिकाबाट पनि सोही प्रकृतिको सहयोग आउने क्रममा रहेको प्रधानमन्त्रीको भनाइ छ।

चीनबाट ३० बेलीब्रिजको सहयोग माग, भारतले पठायो मोडुलर स्टिल ब्रिज

बाढीबाट क्षतिग्रस्त सडक र पुल पुनः सञ्चालनका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत लिइएको छ।

सरकारले चीनसँग ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरेको छ।

भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। भारतले थप ७ वटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

यसैगरी स्विट्जरल्यान्डबाट १० लाख स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको छ, जुन संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी उपलब्ध गराइएको छ।

सञ्चार सेवा पुनः सञ्चालन

बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सञ्चालनमा आइसकेको सरकारले जनाएको छ।

प्रधानमन्त्री शाहका अनुसार आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ।

बाढीअघि प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बीटीएस टावर सञ्चालनमा थिए।

बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो।

हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

वैकल्पिक सडक खोल्ने प्रयास जारी

बाढीले मुख्य सडक तथा वैकल्पिक सडकमा समेत क्षति पुर्‍याएको छ।

सरकारले प्रभावित क्षेत्रलाई जोड्न वैकल्पिक सडक सञ्चालन गर्ने प्रयास गरिरहेको भए पनि शनिबार राति भोटेकोशी नदीमा पानीको सतह पुनः बढ्दा आएको पहिरोका कारण सडकमा थप अवरोध सिर्जना भएको प्रधानमन्त्रीले बताएका छन्।

कृष्णभीर क्षेत्रमा नदी कटान भएपछि सडकमा यातायात सेवा अवरुद्ध भएको छ। तर, सम्बन्धित निकाय र सुरक्षाकर्मीहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको सरकारले जनाएको छ।

७८१ जनाको शव फेला

बाढीका कारण हालसम्म ७८१ जनाको शव फेला परेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

शव व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल खटिएका छन्।

पहिचान भएका शवहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।

पहिचान हुन नसकेका शवको हकमा कानुनबमोजिमको प्रक्रिया पूरा गरी व्यवस्थापन सुरु गरिएको प्रधानमन्त्रीले बताएका छन्।

‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डिएनए तथा अन्य आवश्यक पहिचानसम्बन्धी आधार सुरक्षित राखेर व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको छ।

प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य अझै जारी रहेकाले क्षतिको तथ्यांक अद्यावधिक हुन सक्ने बताएका छन्।

‘सरकार प्रभावित प्रत्येक नागरिकको अभिभावक बनेर उभिएको छ’

प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा सम्पूर्ण नेपालीबीच एकता, सहयोग र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

सरकार प्रभावित प्रत्येक नागरिकको अभिभावक बनेर राहत, उद्धार, उपचार, पुनःस्थापना र पुनर्निर्माणको काममा निरन्तर खटिरहने उनको प्रतिबद्धता छ।

‘हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं,’ प्रधानमन्त्री शाहले भने, ‘प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्‍याउने र पुनर्निर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्नेछौं।’

सम्बन्धित समाचार