काठमाडौं । नेपाल आयल निगम लिमिटेडले रसुवागढी क्षेत्रमा भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारमा सहजीकरण गर्न इन्धन आपूर्ति तथा राहत वितरणलाई तीव्रता दिएको छ।
निगमका अनुसार उद्धारमा खटिएका हेलिकप्टरका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोट ब्यारेकबाट रिफ्युलिङको व्यवस्था गरिएको छ। भदौ १० देखि १३ गतेसम्म उद्धार कार्यमा प्रयोग हुने हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठाइएको छ। यो सेवा नियमित रूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ।
त्यस्तै, उद्धार कार्यमा आवश्यक पेट्रोल तथा डिजेलको आपूर्ति सहज बनाउन थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत प्रभावित क्षेत्रका पेट्रोल पम्पहरूमा ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको छ।
निगमले प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन मागअनुसार सार्वजनिक बिदाका दिनसमेत पेट्रोलियम पदार्थ बिक्री–वितरणको व्यवस्था मिलाएको जनाएको छ।
बाढी प्रभावितका लागि एलपी ग्याससमेत राहतस्वरूप पठाइएको छ। नेपाल ग्यास उद्योग प्रालि, बालाजुबाट भदौ १० गते नुवाकोटमा २३२ थान भरिएका ग्यास सिलिन्डर पठाइएको थियो।
त्यस्तै, एलपी ग्यास उद्योग संघ नेपालमार्फत नुवाकोट र रसुवाका लागि थप १५० थान भरिएका सिलिन्डर पठाइएको छ। यसरी बाढी प्रभावितका लागि कुल ३८२ थान एलपी ग्यास सिलिन्डर राहतस्वरूप उपलब्ध गराइएको निगमले जनाएको छ।
निगमले उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार निरन्तर सहजीकरण गर्ने जनाएको छ।