काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश घोषणा गरेको बैंकको खुद नाफा पनि गत वर्ष उल्लेख्य बढेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा करसमेत समावेश छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ।
हाल कायम १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता साधारण सेयर पुँजीका आधारमा बैंकले १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
त्यस्तै, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसबापत ५ करोड २४ लाख ३८ हजार रुपैयाँ वितरण हुनेछ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ।
सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको २ अर्ब ५७ करोड रुपैयाँको तुलनामा नाफा ३८.०१ प्रतिशतले बढेको हो।
नियमनकारी समायोजनपछि बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो।
हाल बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ। अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ छ।
सानिमा बैंकले सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आएको जनाएको छ।