काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीले टिमुरे बजारमा रहेका आधा दर्जनभन्दा बढी बैंकका शाखा कार्यालयमा क्षति पुर्याएको छ । बिहान करिब सवा ९ बजे आएको बाढीले टिमुरेमा सञ्चालित बैंकका शाखा कार्यालयहरू बगाएको हो ।
हालसम्म प्राप्त विवरणअनुसार बाढीले टिमुरेस्थित कुमारी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय बगाएको छ।
त्यस्तै,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र सानिमा बैंकको टिमुरे शाखा कार्यालयमा समेत बाढीले क्षति पुर्याएको बताइएको छ । यता, बाढीका कारण हिमालयन बैंकको बेत्रावती शाखामा समेत क्षति पुगेको छ ।
बाढीबाट प्रभावित बैंकका शाखा कार्यालयमा भएको क्षतिको यकिन विवरण भने आउन बाँकी छ । केही शाखा कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका लघुवित्त वित्तीय संस्था तथा सहकारीका कार्यालयहरूमा समेत क्षति पुगेको बताइएको छ । ती संस्थाहरूको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।