काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा नयाँ ‘पञ्च ईभी’ र नयाँ ‘टियागो ईभी’ सार्वजनिक गरेको छ ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने छन् ।
यसैगरी, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ । एक्स्पोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ ।
गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौं, नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ ।’
ईभीको नेटवर्क विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि सिप्रदीले जोड दिँदै आएको जनाएको छ । सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभी बिक्रीसँगै सम्बद्ध सेवाको सञ्जाल बिस्तार गरिरहेको प्रष्ट पारे ।
‘विद्युतीय सवारीसाधनप्रतिको हाम्रो प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित छैन, ग्राहकलाई ईभीको प्रयोगमा थप विश्वास र सहजता दिलाउन हामी बलियो पूर्वाधार निर्माणमा पनि लगानी गरिरहेका छौँ। र हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्,’ उनले भने ।
नयाँ पञ्च ईभी: थप शक्तिशाली र प्रविधियुक्त एसयूभी
अत्याधुनिक ‘एक्ट।इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । जसले नेपालको बाटोमा गरिएको परीक्षणअनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।
यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६।०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।
नयाँ टियागो ईभीस् सुरक्षित र अत्याधुनिक ह्याचब्याक
दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू छन् ।