काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका ७ स्थित सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले शुक्रबार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव इञ्जिनियर विक्रम बढासहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सोरु गाउँपालिका ७ अन्तर्गत दाक्च ख्याल्च सडक निर्माण सम्बन्धमा सम्झौता विपरीत वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ भुक्तानी दिएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र जरिवाना असुल गर्न माग गरेको छ ।
सोही मुद्दामा आरोपित दाक्च ख्याल्च सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि १३ लाख ७२ हजार ३४० रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ ।
उनीहरूले नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी मूल्याङन गर्न लगाई वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको ठहर छ ।
यसैगरी, सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुमगन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका ७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमीले अनुगमन निरीक्षण प्रतिवेदन ड्राइ स्टोन म्यासनरी वाल जम्मा ११८.९८ घनमिटर मात्र काम भएकोमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी गलत अनुगमन प्रतिवेदन दिन लगाई सो गलत प्रतिवेदनसमेतको आधारमा वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी रकम भुक्तानी भएको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय माग दाबी गर्दै आरोप पत्र दायर भएको अख्तिायरले जनाएको छ ।