झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला

0 Shares

झापा । मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ ।

सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् र श्रीमान्रश्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार यही साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन ।

‘दिनभरि सम्पर्क नभएपछि बेलुका करिब ४ः३० बजे रतन गुप्ता आफैंले मेरो वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए’, प्रधानाध्यापक लुइँटेलले घटनाबारे भने ।

स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ः०० बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसयता उनी सम्पर्कमा रहेका छैनन् । सम्पर्कविहीन रहेका उनका श्रीमान्को पनि खोजी भइरहेको छ ।’

सम्बन्धित समाचार