काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २० खर्ब ९६ अर्ब ३७ करोड रूपैयाँबराबरको वस्तु आयात भएको हो । यो आयात अघििल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत असारमा मात्र २ खर्ब २ अर्ब २८ करोडको वस्तु नेपाल भित्रिएको छ । गत आर्थिक वर्षमा पछिल्ला ४ महिना लगातार २ खर्ब रुपैयाँभन्दा बढीको सामान नेपाल भित्रिएको छ । जेठमा २ खर्ब १ अर्ब ४५ करोड, वैशाखमा २ खर्ब २ अर्ब ३९ करोड र चैतमा २ खर्ब १ अर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक विभागले दिएको छ ।
गत आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ४३ अर्ब, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड, कात्तिकमा १ खर्ब ४१ अर्ब, मंसिरमा १ खर्ब ५७ अर्ब, पुसमा १ खर्ब ७३ अर्ब, माघमा १ खर्ब ८४ अर्ब र फागुनमा १ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु भित्रिएको थियो ।
त्यसैगरि गत आर्थिक वर्षमा निर्यात १३.८१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात गरिएकोमा गत आर्थिक वर्षमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । त्यसमध्ये ३३ अर्ब ३३ करोड रुपैयाँको वस्तु निर्यात असारमा मात्रै भएको छ । निर्यातको अंक बढे पनि कुल व्यापारमा यसको हिस्सा भने घटेको छ। अघिल्लो वर्ष कुल व्यापारमा निर्यातको हिस्सा १३.३१ प्रतिशत थियो भने गत वर्ष घटेर १३.०७ प्रतिशतमा खुम्चिएको छ । यसले नेपालको उत्पादन र निर्यात क्षमता कमजोर रहेको देखाउँछ ।
समग्रमा निर्यात भन्दा आयात धेरै भएकाले व्यापार घाटा बढेको छ । गत आर्थिक वर्षमा व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो । आयात र निर्यातको अनुपात पनि असन्तुलित छ । गत वर्ष १ रुपैयाँको सामान निर्यात गर्दा ६.६५ रुपैयाँको सामान आयात भइरहेको छ । यो अनुपात अघिल्लो वर्ष ६.५१ मात्र थियो ।