काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले जापानलाई २-१ गोलले पराजित गरेको हो ।
गाब्रिएल मार्टिनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि ब्राजिलले जापानलाई पराजित गर्न सफल भएको हो । मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको थियो ।
जापानका लागि काइसु सानोले २९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीको मिस पासलाई कलेक्ट गर्दै एक्लै बल अगाडि बढाउँदै गोल गरेका थिए ।
दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो । ब्राजिलका लागि मिडफिल्डर कासेमिरोले ५६औँ मिनेटमा हेडमार्फत गोल गरे । उनले गाब्रिएल मागल्हाएसको क्रसमा गोल गरेका हुन् । कासेमिरोले गोल गर्दै खेल बराबरी गरे ।
निर्धारित समयको खेल बराबरीतर्फ अग्रसर भइरहेको अवस्थामा अन्तिम समयमा मार्टिनेलीले विजयी गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।
ब्राजिलले अब आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने छ ।