काठमाडौं । स्वर्गीय जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीको अवसरमा आइतबार वाम धाराका चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिए । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झालनाथ खनालसहित नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले मदन जयन्तीका अवसरमा एउटै मञ्चबाट सम्बोधन गरे ।
मदन भण्डारीकी श्रीमती एवम् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई साँची राखेर तीन पूर्व प्रधानमन्त्रीले सहकार्य गरेर जानुपर्ने सन्देशसहित आफ्नो सम्बोधन गरे । गत फागुन २१ गतेको निर्वाचनमा एमाले तेस्रो नेकपा चौथो शक्तिमा खुम्चिएर नराम्रोसँग पराजय ब्यर्होरेपछि ओली, प्रचण्ड संसद्, सडक र निर्वाचन सबै मोर्चामा सहकार्य गरेर जाने तयारीमा जुटेका छन् ।
२०७४ सालमा निर्वाचनमा तालमेल गर्दै एउटै पार्टी बनाएर जाने भन्दै जनतासँग भेट मागेर प्रतिनिधि सभा र प्रदेशका सातमध्ये ६ प्रदेशमा एकल सरकार बनाए । एमाले माओवादी एकता गरेर नेकपा बनाएपछि तीन वर्ष संघमा एकल पार्टीको सरकार बन्यो । पार्टी एकता गरेको तीन वर्षमै कलह हुन थालेपछि २०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि चार टुक्रामा विभाजित हुन पुग्यो । पार्टी विभाजन भएपछि ओलीले एमाले गठन गरे भने प्रचण्डले माओवादी केन्द्र, नेपाल र खनालले एकीकृत समाजवादी गठन गरे । गौतमले आफ्नै नेतृत्वमा पार्टी गठन गरेर सक्रिय भए ।
गत फागुन २१ गतेको निर्वाचनमा तत्कालीन नेकपाबाट विभाजित भएका तीन पार्टी एक ठाउँमा आएर एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टीले १७ सिट मात्रै ल्यायो भने एमालेले २५ सिटमै खुम्चियो । वामपन्थी शक्तिहरू सरकार बनाउने र ढलाउने नसक्ने गरी रक्षात्मक अवस्थामा पुगेपछि विभाजन भएको ६ वर्षपछि सहकार्य गरेर जानुपर्ने मत राख्न थालेका छन् । आगामी २०८४ सालमा प्रदेश र स्थानीय निर्वाचन हुने भएकाले बलियो हुन कम्युनिस्टहरू एक हुने तयारी गरेका हुन् । कम्युनिस्ट पार्टीमा खस्किँदो जनमतलाई रोक्न सबै कम्युनिस्टहरू एक भएर बलियो हुने दाउमा लागेका छन् ।
आइतबारको कार्यक्रममा प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउने ठुलो षड्यन्त्र भइरहेको दाबी गरे । उनले वामपन्थी शक्तिहरूबिच तत्काल सहकार्य र एकता हुनुपर्नेमा जोड दिएका छन् । विदेशी दबाब, फाँसीवाद र हस्तक्षेपविरुद्ध लड्न कम्युनिस्टहरू एक ढिक्का हुनुको विकल्प नभएको उनले बताए । उनले राष्ट्रिय स्वाधीनता निकै ठुलो संकटमा परेको भन्दै कम्युनिस्ट शक्तिहरूबिचको सहकार्यमा विलम्ब गर्न नहुने सुनाए।

प्रचण्डलेले दक्षिण एसिया र छिमेकी राष्ट्रमा कम्युनिस्टहरूलाई सिद्ध्याइएको घोषणा भइरहेको सन्दर्भ कोट्याउँदै नेपालमा पनि त्यस्तै प्रतिक्रियावादी षड्यन्त्र भइरहेको चेतावनी दिए। ‘नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको यो जबरजस्त प्रभावलाई के गरी सिद्ध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँभरिका प्रतिक्रियावादीहरू लागिराखेका छन्,’ उनले भने, ‘त्यही षड्यन्त्रको परिणतिका रूपमा विभिन्न घटनाक्रमहरू भइरहेका छन्, जसलाई हामीले देखिरहेकै छौँ।’
यस्तै अध्यक्ष ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सलबलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गरेका छन् । उनले अहिले आफूहरूलाई कमजोर नठान्न उनले आग्रह गरे । ‘हामी मरेका छैनौँ, फेरि उठ्छौँ र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौँ,’ ओलीले भने, ‘धुलो टकटक्याउँदै उठ्छौँ । अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौँ ।’ ओलीले कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाएर बलियो शक्ति निर्माण गर्ने जिकिर गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा सहसंयोजक नेपालले नेपालको कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताए । मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण उनले दिए ।
मदन जयन्तीका अवसरमा शीर्ष नेताहरूको सम्बोधन सुनेपछि एमाले नेता एवम् पूर्व मन्त्री गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तिखो टिप्पणी गरेका छन्। नेता बास्कोटाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्।
नेता बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’ राजनीतिक दलहरू बिच एकता वा मोर्चा बनाउने नाममा नेतृत्वले केवल आफ्नो स्वार्थ मात्रै हेरेको उनको बुझाइ छ । उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन् ।

पूर्व राष्ट्रपतिलाई धुरी बनाएर सबै कम्युनिस्ट नेताहरूलाई जोडे पनि तत्काल सहकार्य गरेर जानेमा सबै एकमत देखिएका छन् । एउटै पार्टी नै बनाएर जाने सवालमा आ–आफ्नो पार्टीमा फरक मत देखिएकाले तत्काल गाह्रो देखिएको छ । तर, सबै कम्युनिस्टहरू मिलेर जाने प्रतिउद्धतताले वाम जनमतमा भने सकारात्मक सन्देश प्रवाह भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
पूर्व अर्थमन्त्री पौडेल पक्राउ हुँदा ओलीलाई सहज
नेकपा संयोजक प्रचण्ड सकेसम्म एकता नभए सहकार्य गरेर जानेमा दृढ देखिएका छन् । ओली तत्काल सहकार्य गर्दै जाने मिल्दै गएमा दीर्घकालसम्म एकता गरेर जानुपक्षमा छन् । पछिल्लो समय एमाले अध्यक्ष ओली विरुद्ध उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल लगायत नेताहरूले घेराबन्दी परेका थिए । सरकारले पौडेललाई सम्पत्ति शुद्धीकरणमा पक्राउ परेपछि शङ्कर एक्लै भएपछि ओलीलाई सहज भएको छ ।

पार्टी सचिवालयमा ओली अल्पमतमा देखिए पनि केन्द्रीय समितिमा बहुमत हुँदैन कि भन्ने आकलन गरिएको थियो । पौडेल पक्राउ परेपछि ओलीको केन्द्रीय समितिमा बहुमत पुग्ने भएकाले आफू अनुकूल निर्णय गर्न उनलाई सहज हुने नेताहरूले बताएका छन् ।