धारामा पानी नआएपछि तुलसीपुरमा ट्यांकरबाट वितरण

0 Shares

तुलसीपुर । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङकरबाट पानी वितरण गर्ने गरेको छ ।

संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुई वटा ट्यांकरबाट यसरी घरमै पानी वितरण थालिएको हो । ‘केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन,’ उनले भने, ‘त्यस्ता स्थानमा ट्यांकरबाट भए पनि पानी पुर्याउने गरेका छौँ ।’

तुलसीपुर ४, ६ र ७ का केही स्थानमा यसरी खानेपानीको समस्या हुने गरेको छ । तुलसीपुरको घोराही रोड, नयाँबस्ती, अरनिको टोल, बरुवागाउँ, जबरपुर, भिआइपी टोल, झुमरे, गाइडहरलगायत स्थानमा यसरी ट्याङकरबाट वितरण गर्ने गरिएको छ ।

तुलसीपुरमा एक करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको भए पनि हाल ५० लाख लिटरमात्रै आपूर्ति हुँदै आएको छ ।

मुहान सुक्दा समस्या

खानेपानीको समस्या हुनुका कारण मुहान सुक्नु रहेको कोषाध्यक्ष थापाले बताए । उनका अनुसार हाल खानेपानीको दगेरा, बाख्रेको मुहान सुकेको छ । ती तुलसीपुर खानेपानीका अस्थायी मुहान रहेका छन् । त्यस्तै पहरे, धैरेनी, मुलकोट, चिसापानीको मुहानमा पानीको सतह घटेको छ ।

त्यस्तै, तुलसीपुर ६ कभर्डहल नजिकको डिपबोरिङसमेत सुकेको छ । गोलौरा र कार्यालय परिसरमा रहेको डिपबोरिङमा पनि पानीको सहत घटेको छ । कार्यालय परिसरको बोरिङमा १५ मिनेटमा छ हजार लिटरको ट्यांकर भरिने गरेको भए पनि हाल उक्त ट्यांकर भरिन ३५ मिनेटभन्दा बढी समय लाग्छ ।

पढ्ढाका दुई वटा बोरिङबाट अहिले नयाँ पानी आपूर्ति भएकाले डुम्रीगाउँलगायतका स्थानमा भने केही सहज भएको छ । त्यस्तै, विद्युत् अनियमितताले गर्दा पनि केही समस्या भने पारिरहेको छ । हाल तुलसीपुर खानेपानीका १० हजार बढी धाराहरू छन् ।

सम्बन्धित समाचार