आज यी स्थानमा वर्षा हुने, देशभरको मौसम कस्तो?

0 Shares

काठमाडौं । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

साथै, गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा २-३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ । विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू-भागमा साधाराणतया बादल लागेको छ र तराईका भू-भागमा आंशिक बादल लागेको छ ।

देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ विभागको अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

साथै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

सम्बन्धित समाचार