पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

0 Shares

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका ९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए ।

सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रुपमा आवतजावत गर्न सक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताए । उनले लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उल्लेख गरे ।

‘गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रुपमा अवरुद्ध छ, साना सवारी साधन एकतर्फी रुपमा सञ्चालन गराउन आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरिरहेका छौँ, केही समय लाग्न सक्छ,’ प्रजिअ ढकालले भने ।

सम्बन्धित समाचार