‘नेपाली ब्रो’ एक्लैले गरेका थिए पत्नी ईश्वरीको हत्या ?, प्रतीक्षाले स्वीकारिन् प्रेम सम्बन्ध

0 Shares

काठमाडौं । पत्नी ईश्वरी भुजेलको हत्यापछि प्रहरी हिरासतमा राखिएका ‘नेपाली ब्रो’ का नामले चिनिने कुमार थापा मगरले पत्नी हत्याका सम्पूर्ण गतिविधि आफू एक्लैबाट भएको प्रहरीलाई बताएका छन् । उनकी प्रेमिका भनिने प्रतीक्षा आचार्यले आफू प्रेमिका भएको स्वीकारेकी छन् । तर, घटनामा संलग्नता अस्वीकार गरेकी छन् ।

प्रहरी वृत्त, बालाजुबाट अनुसन्धान भइरहेको उक्त घटनामा संलग्नताको आशंकासहित थप तीनजना पक्राउ परेका थिए । मृतक ईश्वरीको माइती पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले नुवाकोट, तारकेश्वर गाउँपालिका( ३ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने नेपाली ब्रोका ३६ वर्षीय भाइ विक्रम थापा मगर, उनका साथी बालाजु बस्ने ४० वर्षीया पूजन थापा र प्रेमिका भनिने जुम्ला घर भई गोकर्णेश्वर, जोरपाटी बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य पनि हालसम्म प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ ।

जेठ २२ गते राति ‘नेपाली ब्रो’ ले तारकेश्वर नगरपालिका-६, लोलाङ, पैँयुटारमा पत्नी ईश्वरीमाथि रडक प्रहार गरेका थिए । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सोही रात उनको निधन भएको थियो ।

एसपी भट्टराईका अनुसार हालसम्मको अनुसन्धानमा उक्त घटनाका सम्पूर्ण कसुरदार ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगरमात्रै पहिचान भएका छन् । स्वयं उनले पनि प्रहरीसमक्ष घटना कबुल गर्दै आफूबाहेक अरुको कुनै भूमिका नभएको बताएका छन् ।

पक्राउ परेकामध्ये २५ वर्षीया प्रतीक्षा आचार्यले विभिन्न टिकटकमा भनिएजस्तो आफू ‘नेपाली ब्रो’ सँग प्रेम सम्बन्धमा रहेको स्वीकार गरेकी छन् । तर, घटनासँग आफ्नो कुनै पनि सम्बन्ध नभएको बताएकी छन् । यसअघि उनले प्रहरीसमक्ष आफू टिकटकको लतमा लागेका कारण ‘नेपाली ब्रो’ को सम्पर्कमा रहेको बताएकी थिइन् ।

उनका भाइ विक्रम र साथी पूजनले पनि आफूहरुविरुद्धको आरोपमा इन्कारी बयान दिएका छन् । अनुसन्धानरत प्रहरीका अनुसार अझै एक सातासम्म अनुसन्धान गरिने भएको छ । त्यसपछि अनुसन्धान प्रतिवेदनका साथ जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा मुद्दा पेश गरिने तयारी छ ।

‘नेपाली ब्रो’ को हकमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आजीवन कैदको मागका साथ प्रतिवेदन पेश गर्ने तयारी छ । अरुका हकमा मतियारीसमेत नदेखिने कारण उनीहरु सम्भवतः धरौटी वा साधारण तारेखमा छुट्ने सम्भावना छ ।

सम्बन्धित समाचार