धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित होटलमा आयोजित सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेकी थिइन् । कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
घटनालगत्तै वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिए ।
उनका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएका छन् । सोही आधारमा मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइएको डीएसपी रावतले बताए ।
यता पत्रकार कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।