सेबोनको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

0 Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदमा कैलालीका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। डा. गुणाकर भट्टले राजीनामा दिएपछि डा. संजय आचार्य सिफारिस समितिको अध्यक्ष नियुक्त भएका थिए ।

समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका थिए।

सिफारिस समितिले उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले डा. भट्टलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्ड नेतृत्व खाली थियो । भट्ट श्रेष्ठको बाँकी कार्यालयका लागि नियुक्त भएका हुन् । श्रेष्ठ २०८१ मंसिर १० गते ४ वर्षका लागि बोर्ड अध्यक्ष बनेका थिए । यसको अर्थ भट्ट बोर्डमा २०८५ मंसिर ९ गतेसम्म अर्थात् साढे २ वर्ष बहाल रहनेछन् ।

यसअघि पनि अध्यक्ष छनोटको अन्तिम चरणमा पुगेका भट्ट तेस्रो प्रयासमा सेबोनको नेतृत्वमा पुगेका हुन्। उनले बाँकी रहेको करिब साढे दुई वर्षको कार्यकाल सम्हाल्नेछन्।

‘स्टक मार्केट इफिसिएन्सी’ विषयमा पीएचडी गरेका भट्टसँग नेपाल राष्ट्र बैंकमा वित्तीय नीति, अनुसन्धान र सुपरिवेक्षण क्षेत्रमा लामो अनुभव छ। उनी सुशासन र नियामकीय कडाइका पक्षधरका रूपमा परिचित छन्।

नवनियुक्त अध्यक्ष भट्टसामु नेप्सेको संरचनात्मक सुधार, बजार अनुगमन प्रणाली सुदृढीकरण, भित्री कारोबार नियन्त्रण, कमोडिटी तथा नयाँ वित्तीय औजार विकास, र धितोपत्र बोर्ड तथा राष्ट्र बैंकबीच नीतिगत समन्वय मजबुत बनाउने प्रमुख चुनौती रहेका छन्।

लामो समयदेखि नेतृत्वविहीन रहेको सेबोनमा नयाँ अध्यक्ष नियुक्त भएसँगै प्राथमिक निष्कासन (आईपीओ), धितोपत्र बजारसम्बन्धी नीतिगत निर्णय तथा नियामकीय कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार