बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते, केहीको अवस्था गम्भीर

0 Shares

काठमाडौं । बाजुरामा आज बिहान बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिएको हो। बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढाले चलाएका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली खटिएको छ। प्रहरीले घटनास्थलबाट २४ जना घाइतेलाई उद्धार गरेको जनाएको छ।

त्यसमध्ये २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी र १ जना घाइतेलाई प्रादेशिक अस्पताल बयलपाटा अछाम पठाइएको छ। बसमा चालक सहित ३३ जना सवार थिए। जसमध्ये ९ जना यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ।

घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार