खानेपानी र सरसफाइ सुधारका लागि एडिबीको साढे ११ करोड डलर सहुलियत ऋण

0 Shares

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी तथा सरसफाइ सेवा सुधार गर्न ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।

एडिबीका अनुसार उक्त रकम एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना कार्यान्वयनमा खर्च गरिनेछ। परियोजनाबाट १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

परियोजनाले सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने एडिबीले जनाएको छ। सहरी क्षेत्रमा बढ्दो जनसंख्या र तीव्र सहरीकरणका कारण खानेपानी तथा सरसफाइ सेवामाथि बढ्दै गएको चाप व्यवस्थापन गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

एडिबीका नेपालस्थित कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले तीव्र सहरीकरणका कारण धेरै समुदाय अझै पनि सुरक्षित खानेपानी र आधारभूत सरसफाइ सेवाबाट वञ्चित रहेको बताए। उनले परियोजना कार्यान्वयनपछि खानेपानी र सरसफाइ सेवामा नागरिकको पहुँच उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा व्यक्त गरे।

एडिबीले परियोजनामार्फत सहरी क्षेत्रमा दिगो खानेपानी आपूर्ति, प्रभावकारी ढल व्यवस्थापन तथा सार्वजनिक स्वास्थ्य सुधारमा योगदान पुग्ने जनाएको छ।

सम्बन्धित समाचार