काठमाडौं । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेकेदारलाई थर्काएको विषयमा प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिएका छन्।
लम्सालले केही दिन अघि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मुग्लिन-मलेखु खण्ड अनुगमनका क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँचिदिन’ आदेश दिएका थिए।
त्यसअघि लम्सालले ठेकेदार रमेश शर्मालाई प्रहरी लगाएर मन्त्रालयमा उठाएर ल्याएका थिए। सोही विषयमा बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले स्पष्टीकरण सोधेका थिए।
‘ठेकेदारको खुट्टा भाँच्ने आदेश कानुन बमोजिम थियो कि थिएन। दाहिने खुट्टा भाँच्ने हो कि देब्रे खुट्टा हो? मन्त्रीको हैसियतमा यस्तो आदेश दिन मिल्ने हो कि होइन’, महरले सोधेका थिए, ‘ठेकेदारलाई मन्त्रालयमा बोलाएर धाकधम्की दिने कुरा कानुन बमोजिम थियो कि थिएन।’
सांसद महरको प्रश्नमा मन्त्री लम्सालले सिधा जवाफ दिएनन्। उनले घुमाउरो ढंगमा काम गरियोस् भन्ने चाहना राखेको बताए।
‘ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो। इन्टेनसन त्यो होइन। इन्टेनसन नितान्त काम गरोस् भन्ने हो’, मन्त्री लम्सालले भने, ‘उहाँहरुले काम गर्नुभएन भने ठेक्का रद्द गर्नुपर्छ। बैंक ग्यारेण्टी थुत्छ। जसरी पनि असुल उपर हुन्छ। त्यसपछि उहाँहरुको सात पुस्ते सकिन्छ। धितो नहुन सक्छ। त्यस्तोमा बैंकलाई गाह्रो पर्छ।’
उनले ठेक्का लिएको कम्पनीलाई कारबाही गर्दा देशका लागि काम गर्ने कम्पनीको संख्या घट्ने बताए।
‘हाम्रा लागि काम गर्ने कम्पनी कम हुन्छ। पाँच करोडको प्रोजेक्ट रद्द भयो सबै असुल उपुर गर्नुपर्छ। त्यसका कारण उठ्न असजिलो होला। त्यसैले बढी भन्दा बढी दबाब दिएर काम गराउन खोजेको हो। उद्देश्य त्यही हो’, लम्सालले भने, ‘कसैलाई गाली गर्न मनै छैन। खुरुखुरु काम गरिदिए चुपचाप लागेर बस्छौँ। खुसी हुन्छौँ। आशय त्यो हो। उहाँहरुलाई बचाउन त्यो गरेको हो।’