बालेनको गतिविधिमा झस्किएको रास्वपा

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत जेठ १५ गते सामाजिक सञ्जाल फेसबुकमा ‘ढुक्क हुनुहोस्’ मात्रै लेखेर छाडे । अर्थमन्त्री डा.स्वार्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गरेपछि प्रधानमन्त्रीले १५ गते बेलुका आश्वस्त पार्दै उक्त शब्द लेखेका हुन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिसँगै धेरै खालका क्रियाप्रतिक्रिया व्यक्त भए । ती प्रतिक्रियामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निकट नेता प्रमोद न्यौपानेले सामाजिक सञ्जालबाटै प्रधानमन्त्रीलाई प्रतिवाद गरे । उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लक्षित गरी लेखेका थिए, ‘ढुक्क हुनुस् यसरी चाहिँ बन्दै बन्दैन’ ।

यसपछि प्रधानमन्त्री शाहले असार १ गते गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगै खिचेको फोटो राखेर देश बनाउने टोली भनेर सम्बोधन गरे । प्रधानमन्त्रीले दुई जना मन्त्रीको मात्रै फोटो राखेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अरु मन्त्रीहरु झस्किए ।

यसमा प्रधानमन्त्रीले अरु मन्त्रीलाई महत्व नदिएको अर्थात अरुले देश बनाउन सक्दैनन् भन्ने अर्थ लगाएपछि प्रधानमन्त्रीले अर्को स्टाटस लेखेर सबैको ध्यान मोड्न सफल भए । प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गर्दै ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु । यो समस्या हैन दुःख त्यो दिन मान्नु जुन दिन म जिस्किन छोड्छु ।’

प्रधानमन्त्रीका गतिविधिबारे अरु मन्त्री र सभापति लामिछानेनिकट सांसदहरुभित्र विवाद सतहमा देखिने गरी स्पष्ट रेखा कोरिन थालेको छ । रास्वपा सांसद रञ्जु दर्शनालाई एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीका गतिविधिका विषयमा प्रश्न राख्दा मौन बसिन् ।

प्रधानमन्त्रीले संसदमा नेपालले भारतको सीमाना मिचेको अभिव्यक्ति र गृहमन्त्री गुरुङलाई हतारमा किन जिम्मेवारी दिइयो भन्ने प्रश्नमा उनले मौन जवाफ दिएकी हुन् । दर्शनाले दुई प्रश्नमा प्रतिवाद पनि गरिनन् । समर्थन पनि नगरेर चुपचाप बस्दा रास्वपाभित्र कति उकुसमुकुस भएको छ भन्ने प्रष्ट देखाएको छ ।

रास्वपाबाट सरकारको नेतृत्व गर्न बालेन गएपछि पार्टीभित्रै दुई धार देखा परेको स्पष्ट हुन्छ । सरकारका काम कारबाहीलाई लिएर सभापति लामिछाने निकट सांसदहरु बाहिर विरोध नगरे पनि आलोचना गरी प्रश्न गर्दै आएका छन् । मंगलबार संसदमा आफ्नो भनाइ राख्ने क्रममा काभ्रेबाट विजयी सभापति लामिछाने निकट सांसद बदन भण्डारीले सत्तामा बसेकाहरूले आफूहरूलाई झुक्काएको बताए ।

पूर्वाधार विकास मन्त्रालयलाई सम्बोधन गर्दै सांसद भण्डारीको प्रश्न थियो, ‘यो बजेट कस्तो छ भनेर सत्ताधारी सांसदहरूले बोलिसकेपछि मन्त्री ज्यूले चाल पाइसक्नु भयो होला ।’

यस क्रममा उनले एक मनोवैज्ञानिकको विचारलाई आत्मसाथ गर्दै बढी क्षमता भएको मान्छे गलत बाटोमा हिँडे ठूलो क्षति हुने बताए । ‘केही मानिसहरूलाई कमजोर क्षमता भएको, ज्ञान नभएको भन्ने थाहा हुँदैन, त्यो भ्रम सामान्य मान्छेलाई भयो भने कम क्षति हुन्छ, ठूलो मान्छेलाई भयो भने ठूलो क्षति हुन्छ,’ उनले भने, ‘सार्वभौम सांसदहरूलाई मन्त्रीले पूर्वाधार मन्त्रालयमा बोलाए तीन वटा सडक र तीन वटा पुलका लागि बजेट माग्न भने, मैले पनि माग राखेँ, रातो किताब हेरेँ छैन, यतिसम्म झुट बोल्न मिल्छ ?’ उनले सरकार ठिक बाटोमा नभएको भन्दै सही बाटोमा हिँड्नु पर्ने बताए ।

सरकारले कर्मचारीदेखि ठेकेदारसम्म अधिकांशलाई कानुन हातमा लिएर धम्काउने गरेपछि पार्टीमा विवाद बढ्न थालेको छ । सरकार काम कारबाहीमा असन्तुष्टी भए पनि रास्वपाका लामिछाने निकट सांसदहरु नबोलेर चुपचाप बसेका छन् । सरकारका काम गराईमा प्रक्रिया नमिलेको विषयमा मिडियामा कुनै सांसद बोल्न चाहँदैनन् ।

मिडियाले प्रतिक्रिया लिन खोज्दा सबैभन्दा बढी तर्किएर हिँड्नेमा रास्वपाका सांसद बढी छन् । अहिले सरकारका काम कारबाहीमा चित्त नबुझे पनि रास्वपाका सांसदहरू खुल्न सकेको छैन । सांसददेखि कर्मचारी, ठेकेदार, नागरिक अधिकांश असन्तुष्ट भए पनि दुई तिहाईको सरकार भएकाले केही गर्छ कि भन्ने झिनो आशा लिएर बसेका छन् । सरकार गठन भएको एक सय दिनमै यसरी असन्तष्टी बढ्नु आफैँमा राम्रो नभएको राजनीतिक विश्लेषक बताउँछन् ।

उता रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा हुँदैछ । पार्टीमा अधिकांश रवि निकट नेताहरु वडादेखि पालिका, प्रदेश जिल्लामा निर्वाचित भएका छन् । पार्टीमा अघोषित रुपमा बालेन र रवि टिममा कसले जित्यो ? हिसाब राख्ने गरिएको छ ।

पहिलो महाधिवेशनमा सभापतिसहित पदाधिकारी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरिएको छ । यदि, सर्वसम्मत नभए निर्वाचन विधिबाट नेतृत्वको टिम टुंगो लगाउने तयारी गरिएको छ । महाधिवेशसनसम्म आउँदा रास्वपाको टिम कस्तो बन्छ । त्यसले सरकारमा समेत त्यसै बमोजिम प्रभाव पार्न सक्ने विश्लेषण हुन थालेको छ ।

सम्बन्धित समाचार