काठमाडौं । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व संकलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० संकलन गरेको छ ।
यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ संकलन गरेको छ । विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार, टोखाले १० करोड ९९ लाख २३ हजार, चाबहिलले ३१ करोड ४२ लाख १९ हजार बराबरको राजस्व संकलन गरेको छ ।
विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व संकलन गरेका थिए । यस्तै, गत चैतमा कुल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व संकलन गरेका थिए ।
त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ र गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व संकलन भएको थियो ।