काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् । आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका हुन् ।
मन्त्री लम्सालको सो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ लम्सालले भनेका छन् । उनी आइतबार नागढुंगा–मुग्लिन सडकखण्ड बिस्तारको प्रगति बुझ्न धादिङ गएका थिए । त्यसक्रममा उनले पूर्वी खण्ड (नौबिसे–मलेखु खण्ड) अनुगमनको क्रममा घाटबेसीमा सो अभिव्यक्ति दिएका हुन् ।
सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि मन्त्री लम्सालले पनि ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको एक प्रत्यक्षदर्शीले बताए ।