नेपालगञ्ज । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ महासंघको बाँके–बर्दिया जिल्ला भेला सम्पन्न भएको छ। भेलाले खानेपानी तथा सरसफाइ क्षेत्रको प्रभावकारी व्यवस्थापन, उपभोक्ता हित संरक्षण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संघीय खानेपानीका वरिष्ठ इन्जिनियर देवेन्द्र झा, महासंघका सल्लाहकार शंकर गौतम, केन्द्रीय सदस्य टेकनारायणज्यूलगायत प्रदेश समिति, विभिन्न खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधि तथा आम उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रदेश महासचिव नीलकण्ठज्यूले गर्नुभएको थियो।
भेलामा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक चुनौती, सेवा प्रवाहमा सुधार, उपभोक्ताको अधिकार संरक्षण, संस्थागत क्षमता अभिवृद्धि तथा गुणस्तरीय खानेपानी सेवाको सुनिश्चितताका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तह, उपभोक्ता समिति र सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै सुरक्षित तथा दिगो खानेपानी सेवामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा संगठन विस्तार र सुदृढीकरणका साथै जिल्लास्तरमा महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो। सौहार्दपूर्ण वातावरणमा सम्पन्न भेलाले खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।