प्रहरी जवानको हत्या प्रकरण : अन्जलीलाई आँखा झिम्काएको निहुमा हत्या

0 Shares

काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए ।

उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।

कसरी भयो घटना ?

युवराज घिमिरे काम सकेर घर पुग्नु अघि नै तार्केश्वर ११ को एक सानो होटलमा पसे । खाजा खाने क्रममा अन्जली श्रेष्ठ र सचिन परियार पनि सोहि खाजा घरमा पुगेको प्रहरीले जनाएको छ । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खाएको प्रहरीले खुलाएको छ ।

सोहि क्रममा उनीहरूबीच विवाद सुरु भएको थियो। सचिनले युवराजले अन्जलीलाई आँखा झिम्काएको आरोप लगाएका छन् । जसपश्चात सचिनले अन्जलीलाई विसन्चो भयो भन्दै युवराजलाई माथिसम्म पुर्‍याइदिन आग्रह गरेको पनि प्रहरीसँग बताए । त्यसपछि उनिहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएका थिए ।

युवराज सो स्थानमा पुग्दा पहिलेदेखि नै त्यहाँ विपना, नुरमाया, बुद्ध, अमृत र नाबालक रहेको पनि प्रहरीको भनाइ छ । हत्यापछि युवराजको शवको स्थान परिवर्तन गरेर उनीहरूले घरभन्दा केही बाहिर छोपेर राखेका थिए । खाजा खाएको ठाउँबाट घटनास्थल ४ किलोमिटर पर रहेको छ ।

प्रहरीले युवराजसँग भएको २ हजार रूपैयाँ लगेको हुनाले लुटपाट हुन सक्ने अनुमान गरेको छ ।हालसम्म युवराजले मदिरा खाएरनखाएको परीक्षण भइनसकेको र हत्याको पूर्वयोजना पनि नदेखिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख वसन्त रजौरेले बताए । खाजाघरमा आखाँ झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताउँदै उनले सचिन र युवराजबीच पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको जानकारी दिए । अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा रहेको पनि उनले खुलाए ।

रजौरेका अनुसार पक्राउ पर्नेहरू एकैठाउँमा बस्ने टोली होइनन् । उनीहरु ७ दिन एक स्थानमा र ७ दिन अर्कै स्थानमा बस्ने गरेका थिए । यिनीहरु निमार्णाधीन घरहरुमा बस्ने टोली भएको पनि उनले खुलाए । विगत लामो समयदेखि सँगै उनीहरु बस्दै आएका थिए । यद्धपी युवराज अहिलेसम्म त्यो स्थानमा गएको नभेटिएको पनि रजौरेले बताए । यसअघि सचिन र अमृत चोरी घटनामा मुद्दा परेको थियो ।

सम्बन्धित समाचार