श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै-पैसा कुम्लाउँदै !

0 Shares

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरी झरेको कपाल पलाउँछ भन्दै विज्ञानलाई चुनौती दिइरहेको छ, सप्तऋषि आर्युवेद ।

सप्तऋषिले दुनियाँलाई बेकुफ बनाउँदै प्रचार प्रसारमा व्यस्त छन् । श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ ।

सप्तऋषि आर्युवेदले केशसम्बन्धी मात्र काम गर्ने मात्र नभई छाला तथा सौन्दर्य सम्बन्धी, पेटसम्बन्धी, मलद्वार, मोटोपन, सुगर, कोलेस्ट्रोल, प्रेसर जस्ता दीर्घ रोगहरू, हाड जोर्नी, यौन तथा शारीरिक दुर्बलता, पिसाबसम्बन्धी समस्याको उपचार गर्ने भन्दै प्रचार गरिएको पाइन्छ ।

सप्तऋषि आयुर्वेदले खुलेआम सर्वसाधारणलाई ठगी गरिरहेको छ । तर, उपभोक्ता हकहितका लागि खुलेका दर्जनौँ उपभोक्तावादी संघ संस्था, उपभोक्तासँग सरोकार राख्ने सरकारी निकाय मौन बसिरहेको छ ।

यसैलाई लिएर केही व्यक्तिले प्रश्न गरेका छन् । राम ढुंगाना भन्छन् ‘विश्वका अर्बपति धनाढ्य धेरैको कपाल छैन, के उनीहरूले प्राकृतिक रुपमै कुनै प्रोडक्ट लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजति पैसा तिरेर त्यस्ता सामान किन्ने थिएनन् होला र ?’

यस्तो छ उनको तर्क

टाउकोको कपाल झरेर कपालविहीन भएकाको कपाल उमार्ने भनेर प्रचार गरिएको श्रीकेश तेलले गरेको विज्ञापनमा जस्तो कसैको पनि वास्तविक रुपमा कपाल पलाएको छैन ।

केही मानिसहरूले आफ्नो टाउकोमा उम्रिएका दश बीस वटा मसिना रौँ देखाएर प्रचार गरिरहेका छन् । त्यो रौँहरु यत्तिकै पनि आउँछ । त्यस किसिमका कपाल बढेर खासै ठूलो पनि हुँदैन र मानिसको सौन्दर्यमा पनि खासै फरक पर्दैन ।

संसारका विकसित धनी देशमा कपाल पुनः उमार्न सकिन्छ कि भनेर ठूला कम्पनी र विज्ञहरुले लामो समय खर्चिएर गहिरो अनुसन्धान पनि गरेकै होलान् । किनकी कपाल उमार्न सकिने तेल, क्रिम या खाने औषधी बनाउन सकेमा त्यस्तो उत्पादन बनाउने, व्यक्ति या कम्पनी रातारात अर्बपति हुने पक्का छ । किनकी मानिसहरू कपाल नभएर गुमेको सौन्दर्य र आत्मविश्वास फर्काउन जति महँगो भए पनि त्यस्ता उत्पादन किन्छन् नै ।

विश्वका अर्बपति धनाढ्यहरू धेरैको कपाल छैन । के उनीहरूले प्राकृतिक रुपमै कुनै उत्पादन लगाएर कपाल उम्रिएको थाहा पाएमा भने जति पैसा तिरेर त्यस्ता उत्पादन किन्ने थिएनन् होला ? कपाल सजिलै उम्रिने भरपर्दो उत्पादन बजारमा अहिलेसम्म बनेको छैन ।

त्यसैको विकल्पमा अनुसन्धानकर्ताले कपाल प्रत्यारोपण प्रयोगमा ल्याएका हुन् । यो चाहिँ कपाल उमार्न लगभग सफल भएको विधी हो । कपाल प्रत्यारोपण गरिएका मानिसहरुको कपाल उम्रिएपछि कपाल रोप्नुअघि र कपाल पलाइसकेको अवस्थामा कपाल प्रत्यारोपण गर्नेहरुले विज्ञापन गर्छन् ।

अब बुझौँ, कपाल किन झर्छ ?

डा. कल्याण सुवेदीका अनुसार कुनै पनि दिनमा १०० ओटा जति कपाल झर्ने गर्छ । यदि, तपाईंको कपाल लामो छ र तीन दिनमा एक पटक नुहाउनु हुन्छ भने नुहाएपछि करिब ३०० जति कपाल बाथरूममा देखिनुलाई सामान्य मान्नु पर्छ ।

यी झरेका कपालको जराबाट पुनः कपाल पलाउन थाल्छ । तर, कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउन थाल्ने हुन्छ । यो प्रक्रिया महिलामा भन्दा पुरुषमा बढी देखिन्छ ।

उनी भन्छन्, ‘प्राकृतिक रुपमा पुरुषमा यो प्रक्रिया २० वर्षमा शुरु हुन्छ भने महिलामा ३० वर्षमा शुरु हुन्छ, प्राय कपालको संख्या लगभग ५० प्रतिशत जति कम नहुँदासम्म हामीलाई खासै चिन्ता महसुस हुँदैन वा हामीले पत्तो पाउँदैनौँ, कपाल झर्ने कारण धेरै हुन सक्छ, ती कारणलाई मुख्यतय दुई भागमा विभाजित गरिन्छ । पहिलो कपालको जरा नष्ट भएको र दोश्रो कपालको जरा नष्ट नभएको ।’

डा, सुवेदी भन्छन्, ‘कपाल झर्ने प्रक्रिया प्राकृतिक हुनाले कपाल झर्न सम्पूर्ण रुपमा रोक्न सकिन्न, औषधिहरुले मुख्य गरी दुई किसिमले काम गर्छ (एक) कपाल झर्न कम गर्ने, (दुई) जरा जिउँदो रहेको तर कपाल उम्रन छाडेकोलाई फेरि सक्रिय बनाउने, तल बताइएका औषधि र विधिहरु जति छिटो शुरु गर्यो उति नै राम्रो परिणाम देखिन्छ, अर्थात् टाउको टक्लु हुनुअघि नै शुरु गर्दा राम्रो हुन्छ ।’

यदि, अचानक टाउकाबाहेक आँखी भौँ र शरीरको अन्य भागमा पनि रौँहरु एकै पटक झर्न शुरु गरेको छ भने पहिला बाइटोन भिटामिन खान शुरु गर्ने, एक महिना दिनहुँ खाँदा झर्न रोकिएन भने तुरुन्त डाक्टरकोमा जाने, झर्न रोकियो भने ३ महिना थप खाने, टाउको चिलाउने पनि गर्छ भने तुरुन्तै डाक्टरकोमा जाने, भिटामिन खाँदै गर्दा रगतमा अन्य केहि कुराको पनि कमी छ कि भनेर जाँच गर्दा राम्रो हुन्छ ।

सम्बन्धित समाचार