काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोंगफेङ मोटरले युरोपेली बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्ने रणनीतिअनुसार जर्मनीको म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ। यस कदमले कम्पनीको विश्वव्यापी विस्तार योजनालाई थप गति दिने अपेक्षा गरिएको छ।
जनवरी २९ मा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त केन्द्रले विशेषगरी एम–हीरो र भोयाह ब्रान्डका सवारी साधनहरूको डिजाइनमा केन्द्रित भई काम गर्नेछ। कम्पनीका अनुसार, युरोपेली उपभोक्ताको रुचि, सौन्दर्यबोध तथा प्रविधि अपेक्षालाई ध्यानमा राख्दै नयाँ डिजाइनहरू विकास गरिनेछ।
यो स्टुडियो डोंगफेङको विश्वव्यापी अनुसन्धान तथा विकास (R&D)सञ्जालको महत्वपूर्ण हिस्सा हुनेछ, जसले चीनका वुहान र सांघाईस्थित डिजाइन केन्द्रहरूसँग सहकार्य गर्दै काम गर्नेछ। विशेषगरी, म्युनिख केन्द्रले क्लाउड कम्प्युटिङ, भर्चुअल रियालिटी (VR) , अग्मेन्टेड रियालिटी (AR) र कृत्रिम बुद्धिमत्ता(AI) जस्ता अत्याधुनिक प्रविधिको प्रयोगमार्फत डिजाइन प्रक्रिया छिटो र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
म्युनिखलाई अटोमोबाइल डिजाइन र इन्जिनियरिङको विश्वस्तरीय हबका रूपमा चिनिन्छ। यस्तो प्रतिस्पर्धी र नवप्रवर्तनशील वातावरणमा केन्द्र स्थापना गर्नु डोंगफेङको रणनीतिक निर्णयका रूपमा हेरिएको छ।
कम्पनीले यस केन्द्रमार्फत केवल डिजाइन मात्र नभई ब्रान्डिङ, मार्केटिङ रणनीति तथा उत्पादन अनुकूलनमा समेत योगदान पुर्याेउने जनाएको छ।
विशेषज्ञहरूका अनुसार, युरोपेली बजारमा सफलता प्राप्त गर्न स्थानीय प्राथमिकताअनुसार उत्पादन विकास गर्नु अनिवार्य हुन्छ। यस सन्दर्भमा म्युनिख डिजाइन केन्द्रले डोंगफेङलाई प्रिमियम सेग्मेन्टमा बलियो उपस्थिति बनाउन मद्दत गर्नेछ।
डोंगफेङले घरेलु बजारभन्दा बाहिर विस्तार गर्ने आफ्नो दीर्घकालीन योजनाअनुसार यो पहल अघि बढाएको हो। युरोपेली युनियन बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर, डिजाइन र प्रविधिमा ध्यान केन्द्रित गर्नु आवश्यक मानिन्छ।