बलात्कार अरोपमा एमाले नेता विदुर शर्मा फरार

0 Shares

काठमाडौं । नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन् । एक युवतीले प्रहरीमा बलात्कारको जाहेरी दिएपछि उनी फरार भएका हुन् ।

भक्तपुर सूर्यविनायक २ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् ? पत्ता लगाउन सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र उनी हाल फरार रहेको बताए ।

‘एक जना युवतीले जबरजस्ती करणी गरेको जाहेरी दिनु भएको छ,’ उनले भने, ‘जाहेरीपछि अनुसन्धानका लागि खोजी गर्दा उहाँ फेला पर्नु भएको छैन ।’

घटना अनुसन्धानका क्रममा रहेकाले प्रहरीले यसबारे थप विवरण उल्लेख गरेको छैन । शर्मा निर्माण व्यवसायीसमेत हुन् ।

दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका छन् । नेकपा एमालेको गत जिल्ला अधिवेशमा उनी उपसचिव पदको उम्मेदवार बनेका थिए।

ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन्। उनलाई भरतपुरका एक जना निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।

सम्बन्धित समाचार