काठमाडौँ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकारले डोजर चलाएको सुकुम्वासी बस्तीमा पुगेका छन् । सुकुम्वासी बस्तीमा पुगेर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राम्रो काम गर्नेलाई सहयोग र कमीकमजोरी भए सचेत गराउने बताए ।
सरकारले शहरी गरिब तथा श्रमिकहरूको दीर्घकालीन व्यवस्थापनका लागि कदम चालिरहेको विश्वास व्यक्त गरे । सुकुम्वासी समस्या हटाउने नभई व्यवस्थित पुनःस्थापना गर्ने विषय भएको उनले बताए । उनले भने, ‘वास्तविक सुकुम्वासीहरूको पहिचान गरी उचित बसोबासको व्यवस्था गर्नुपर्छ । म पनि विगतमा झुपडीमा बसेको मान्छे हुँ । खोलाकिनार र असुरक्षित स्थानमा बस्न बाध्य नागरिकहरूको अवस्था सुधार गर्नु राज्यको दायित्व हो ।’
केही व्यक्तिहरूले अवैध रूपमा जग्गा कब्जा गर्ने प्रवृत्ति पनि रहेकाले वास्तविक र नक्कली सुकुम्वासी छुट्टाएर मात्र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । यसअघि नै गरिएको सर्वेक्षणलाई आधार मानेर प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।
उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले राम्रो नै सोचेर काम अगाडि बढाएको विश्वास व्यक्त गरे । उनले थपे, ‘बालेनजी इञ्जिनियर मान्छे हो । सुकुम्वासीलाई राम्रो गर्नु हुन्छ भन्ने विश्वास छ । अहिले जुन भइरहेको छ, यही सोचअनुसार सायद् बालेनजीले गर्दै हुनुहुन्छ होला भन्ने मेरो विश्वास हो ।’