काठमाडौं । ‘अनुवाद विमर्श’को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।
यस शृङ्खलामा कवि, गीतकार तथा अनुवादक प्रतिसरा सायमी विशेष अतिथिको रूपमा सहभागी थिइन्। कार्यक्रममा भाषाप्रेमी, लेखक तथा साहित्यिक विद्वानहरूको उत्साहजनक सहभागिता रह्यो।
प्रारम्भिक दिनहरू सम्झँदै सायमीले नेपाली उखान र बोलीचालीका शब्दहरू कठिन लागेर भएको असहजताबारे खुलेर बोलिन् ।
‘नेपाली उखान र बोलीचालीका ठेट नेपाली शब्दहरूले मलाई निकै बेचैन बनाउँथे। म घण्टौं, कहिलेकाहीं दिनौंसम्म त्यही शब्दलाई मनमनै घुमाउँथें, खोज्थें, लेख्थेँ, फेरि खोज्थें, अनि अन्तमा सही शब्द भेटिन्थ्यो। त्यो शब्द भेट्टाउँदाको क्षण हरेक पटक एउटा सानो जितजस्तै लाग्थ्यो’ सायमीले भनिन् ।
सायमीले अनुवादलाई केवल भाषिक अभ्यास मात्र नभई सांस्कृतिक संरक्षण र सिर्जनात्मक उत्तरदायित्वको कार्यका रूपमा परिभाषित गरिन् । उनिले नेपाल भाषाबाट अनुवादको क्षेत्रमा पाइला टेकेकी थिइन् । त्यो अनुभवलाई उनिले चुनौतीपूर्ण तर अत्यन्त समृद्ध बताइन् ।
अनुवादक समाज नेपालद्वारा आयोजित ‘अनुवाद विमर्श’ शृङ्खलाको यो चौथो संस्करणले नेपालको समृद्ध बहुभाषिक साहित्यिक परिदृश्यमा अनुवाद कलालाई उत्सव मनाउने र गहन विमर्श गर्ने एक महत्त्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।