गगन र विश्वप्रकाशको आ-आफ्नै अडानले दलको नेता टुंगो लागेन

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता टुंगो लगाउन सकेको छैन । निर्वाचन सकिएको झण्डै तीन महिना हुन लाग्दा कांग्रेसले दलको नेता छान्न सकेको छैन ।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माका अडानका कारण दलको नेता टुंगो नलागेको एक नेताले बताए । सभापति थापाले रसुवाबाट निर्वाचित मोहन आचार्य वा सानुपातिक निर्वाचनबाट निर्वाचित अर्जुननर सिंह केसीलाई बनाउनुपर्ने अडानमा छन् ।

तर, उपसभापति शर्मा सानुपातिक निर्वाचनबाट निर्वाचित भिष्मराज आङ्देम्बेलाई बनाउनुपर्ने अडानमा छन् । लामो समयदेखि दलको नेता चयन हुन नसक्दा पार्टीभित्रै थापा र शर्माको आलोचना हुन थालेको छ । यदि, संसदको पहिलो दल भएको भए प्रधानमन्त्री छान्नु पर्ने बाध्यता हुन्थ्यो ।

सरकार बनाउने हैसितसमेत नभएपछि कांग्रेसले दलको नेता चयन ढिला गरेको कतिपय नेताहरु बताउँछन् । तर, कांग्रेस संसदको प्रमुख प्रतिपक्ष दलको हैसित हुने भएकाले समयमै छान्न नसक्दा जनतामा नराम्रो सन्देश गएको छ ।

आज कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा पार्टी सभापति थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी भइरहेको बुझिएको छ ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरुले सपथ लिएको एक महिनाभन्दा बढी समय भइसक्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसको संसदीय दलको नेतामा केसी, आङदाम्बे र आचार्य दाबेदारको रुमा रहेका छन् ।

गत शुक्रबार दलको नेता चयनका लागि मतदानको समय निर्धारण गरिएको भए पनि सहमतिका लागि भन्दै स्थगित गरिएको थियो । त्यसै दिन बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सहमतिमै दलको नेता चयन गर्न उपसभापति शर्माको नेतृत्वमा समन्वय समिति बनाएको थियो ।

दलको नेतामा सर्वसम्मत निर्णय नभएमा निर्वाचन हुन सक्ने नेताहरुले बताएका छन् । निर्वाचन भएमा आचार्य दलको नेता हुन सक्ने धेरैको आंकलन छ । पार्टी सभापति थापा पराजित भएपछि दलको नेता को हुने ? भन्ने विषयमा विवाद भएको हो । दलको नेता चयन हुने नेताले संसदको प्रमुख प्रतिपक्ष दलको नेताको रुपमा सुविधा पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार