काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । तराईका भागमा आंशिक बदली रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने छ । मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने छ । बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।