अब किसानलाई सिधै बजारको पहुँच, थोकमा १० र हाटमा ५० प्रतिशत स्टल सुरक्षित

0 Shares

काठमाडौं । बिचौलियाको तह कम गरी किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थोक बजारमा १० प्रतिशत स्टल र स्थानीय हाटबजारमा ५० प्रतिशत स्टल किसानलाई नै उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रालयको यो निर्णयसँगै अब किसानले आफ्ना कृषि उपज सिधै बजारका स्टलमार्फत बिक्री गर्न पाउने भएका छन् । बजारमा कृषकहरूको पहुँचलाई सहज बनाउन ‘फार्मर्स सेड’ ९किसान बिक्री स्थल० अनिवार्य रूपमा व्यवस्थित गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका, २०७३ अनुसार संघअन्तर्गत सञ्चालित ११ वटा कृषि थोक बजारका साथै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय तहमा सञ्चालित हाटबजारहरूमा किसान सेडको संरचना भएरनभएको यकिन गरिनेछ ।

यदि संरचना भएर पनि सञ्चालनमा नरहेको भए त्यसलाई यथाशक्य छिटो सञ्चालन र व्यवस्थापनमा ल्याइने मन्त्रालयले बताएको छ । मन्त्रालयको यस निर्णयअनुसार स्वदेशी उत्पादन, स्थानीय, रैथाने तथा व्यावसायिक उपजहरू नेपाली किसानमार्फत नै बिक्री हुने व्यवस्था मिलाइनेछ ।

जसअन्तर्गत थोक बजारमा कम्तीमा १० प्रतिशत स्टल कृषक समूह वा सहकारीमार्फत सञ्चालन हुने गरी किसान सेड अनिवार्य गरिएको छ । त्यसैगरी, स्थानीय हाटबजारमा कुल क्षेत्रफलको कम्तीमा ५० प्रतिशत स्थान स्थानीय उत्पादनलाई नै उपलब्ध गराई बिक्री वितरणको प्रबन्ध मिलाइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार