काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच पार्टी एकता गर्न नेताहरुले सघन रूपमा छलफल चलाएका छन् । एमाले र नेकपाका दोस्रो तहका नेताहरूले आगामी २०८४ सालभित्र हुने प्रदेश र स्थानीय तह निर्वाचनसम्म सकेसम्म एकता नभए कार्यगत एकता गर्ने गरी छलफल गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचाररत छन् । पार्टीमा उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत अधिकांश नेताहरू ओलीको राजीनामा मागेर विपक्षमा उभिएका छन् । पार्टी निर्वाचनमा नराम्रोसँग पराजित भएकाले अध्यक्ष ओलीले राजीनामा दिएर विशेष महाधिवेशनमा जानुपर्ने उनीहरूले माग राखेका छन् । पार्टीमा अप्ठ्यारोमा परेपछि ओलीले नेकपासँग एकता गर्न दोस्रो तहका नेताहरू परिचालन गरेपछि एकताको वातावरण बनेको हो ।
पार्टी एकताका विषयमा छलफल अघि बढेपछि नेकपा अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । ओली प्रचण्डबिच करिब ५० मिनेट स्वास्थ्य अवस्था, कम्युनिस्ट आन्दोलन र पार्टी एकताका बारेमा छलफल भएको ओली निकट एक नेताले बताए । अध्यक्ष ओलीको स्वस्थ्य लाभका कामना गर्नुका साथै एकताका विषयमा राम्रो छलफल भएको ती नेताले बताए ।
पार्टीमा ७० वर्षे उमेर हद कायम गर्न दबाब
एमाले र नेकपाका दोस्रो र तेस्रो तहका नेताहरूले पुस्तान्तरणको बहस चर्को रूपमा उठाएका छन् । पार्टी एकताले मात्रै तत्कालको समस्या समाधान नहुने भएकाले पार्टी पुर्नगठर्न नै हुनुपर्ने आवाज उठाएर दबाब बढाएका छन् । पार्टीमा ७० वर्षे उमेर हद कायमदेखि लिएर नेतृत्वमा समेत पुस्तान्तरण हुनुपर्ने नेताहरूले उठाएका छन् । यसअघि एमालेले ७० वर्षे उमेरहद लगाएको थियो । ओली अध्यक्ष भएपछि ७० वर्षे उमेरहद हटाएका थिए । ‘अहिले समय धेरै पर गएको छ । ७० प्रतिशत जनमत भएको २१ प्रतिशतमा झरेको छ । अब कम्युनिस्ट आन्दोलन र पार्टी जोगाउन सबैले आ आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने अवस्था छ’ एक नेकपा युवा नेताले भने, ‘एमाले र नेकपा एकता हुँदा ओली प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहित पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ । त्यसमा ७० वर्ष उमेर पुगेका सबै नेता बिदा भएर सल्लाहकारको भूमिकामा बस्नुपर्छ । त्यसपछि नयाँ शिराबाट छलफल गरेर एकतामा जानुपर्छ । नभए नेता थुपारे मात्रै एकताले मात्रै जनमतमा खास्सै फरक पर्दैन ।’
पार्टीमा योगदान गरेका पुराना नेतालाई सम्मानपूर्वक बिदा गरेर सल्लाहकारको भूमिकामा राखेर एकतामा गएमा कम्युनिस्ट जनमतलाई फर्काउन सकिने अवस्था रहेको ती नेताले बताए ।
गत फागुन २१ गतेको निर्वाचनमा एमाले २५ सिट नेकपा १७ सिटमा खुम्चिएपछि एकता गर्न हतारिएका हुन् । अब एकता भएमा संसद्मा ४२ सिट सहित संसद्को दोस्रो शक्ति सहित प्रमुख प्रतिपक्ष दल हुने देखिएको छ । यस्तो भएमा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सकिने नेताहरूको बुझाई छ ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र एकता गर्ने गरी चुनावी तालमेल गरेका थिए । त्यसपछि चुनावी परिणाम आएपछि एमाले माओवादी एकता गरेर नेकपा बनाएका थिए । पार्टी एकता गरेको तीन वर्षमै विभाजन भएपछि आ आफ्नो पार्टी गठन गरेका थिए । पार्टी एकता भएका पाँच वर्षमा फेरि एमाले र नेकपा एकता गर्न छलफल अघि बढाएका छन् । जनमतबाट कट्दै गएपछि कम्युनिस्टहरू एकता गरेर प्रदेश र स्थानीय निर्वाचनमा बलियो हुने प्रयास गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले २०६२,२०६३ सालपछि राजकीय पदमा बसेका नेता, कर्मचारी लगायत सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ती छानबिन गर्न आयोग गठन गरेका छन् । पूर्व न्यायधीय राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ती छानबिन आयोग गठन गरेपछि पहिलो प्रहार आफूहरुमाथि हुन सक्ने नेताहरुको बुझाई छ । अहिलेको सरकार कम्युनिस्ट विरोधि भएकाले एकता गरेर बलियो भएपछि प्रतिसोध साधेर पक्राउ गरेमा प्रतिवाद गर्न सहज हुने देखिएको छ ।
जनमतदेखि सरकारबाट घेराबन्दीमा परेपछि कम्युनिस्टहरु एकता गर्न तम्सिएका हुन् ।