सन्दीपको पक्षमा वरिष्ठ अधिवक्ता बिडारीले पनि बहस गर्ने, को-को छन् टोलीमा

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेको कानूनी टोलीमा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी जोडिएका छन् । उच्च अदालतमा विचाराधीन मुद्दामा बहस गर्न सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् ।

सन्दीपसँग यसअघि नै आधा दर्जन कानून व्यवसायीको टोली रहेको छ । जसमा पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठदेखि वरिष्ठ अधिवक्ता शम्भु थापासम्म रहेका छन् । उनीहरूले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरिसकेका छन् ।

यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, मुरारी सापकोटा र सविता भण्डारी पनि टोलीमा छन् । टोलीको संयोजन अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् ।

नेकपा माअ‍ोवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यसमेत बनेका बिडारी थपिएसँगै सन्दीपको टोली थप बलियो बनेको छ । देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी फरक वाककलाका कारण प्रख्यात छन् ।

सन्दीपको मुद्दामा अर्को पेसी यही १ लाई तय भएको छ । यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो । गौशाला २६ का वकिलहरू मुद्दा पछाडि धकेल्ने प्रयासमा छन् । उनीहरूले सन्दीपलाई विश्वकप खेल्न नदिने रणनीतिमा छन् । त्यसपछि आफूहरूको पक्षमा फैसला आउने उनीहरूको आशा छ ।

सन्दीपको पक्ष भने चाँडै सुनवाइ भए मुद्दाको किनारा लाग्नेमा विश्वास्त छ । सन्दीपले सफाइ पाए उनी अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपमा समेत भाग लिन पाउन सक्ने अवस्था हुन्छ ।

सम्बन्धित समाचार