काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नवनिर्वाचित सांसदका लागि आजदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन अनुपस्थिति भएका छन् । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा उनीहरू अनुपस्थित भएका हुन् ।
पार्टीका उपसभापति डीपी अर्यालले दुवै नेता ‘स्वास्थ्यका कारण’ आज उद्घाटन सत्रमा उपस्थित हुन नसकेको जानकारी दिएका हुन् । उनले भने, ‘स्वास्थ्य अवस्था र व्यस्तताले गर्दा वरिष्ठ नेता बालेन शाह उद्घाटन सत्रमा आउन सक्नु भएन, सभापति लामिछाने पनि स्वास्थकै कारण उद्घाटनमा उपस्थति हुन सक्नु भएन ।’
उनले स्वास्थ्यमा के समस्या भएको भन्ने विषयमा स्पष्ट बनाएनन् । बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम बालेनले उद्घाटन गर्ने र रविले समापन गर्ने तालिका थियो ।
अभिमुखीकरण कार्यक्रम रास्वपाका उपभासपतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रुपमा घण्टी बजाएर उद्घाटन गरेका थिए ।
नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्न, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट पार्न तथा संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउन प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ ।