काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक थियो ।
बैठकले गरेका मुख्य मुख्य निर्णयहरू प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् । उनका अनुसार, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।
आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरी सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको हो । त्यस्तै, राष्ट्रियसभाको रिक्त सदस्य पदमा गृहमन्त्री अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
त्यस्तै, बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।