काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र जनार्दन शर्मा‘प्रभाकर’ नेतृत्वको प्रगशिल लोकतान्त्रिक पार्टी शून्य भएपछि पार्टी पुनर्गठनको बहस सुरु भएको छ । प्रलोपाका अध्यक्ष सन्तोष परियारले आइतबार विज्ञप्ति जारी गरेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् । यस्तै विप्लव नेतृत्वको माओवादीले औपचारिक रुपमा मुख नखोले पनि पार्टीलाई नयाँ रुपमा अघि बढाउनुपर्ने नेताहरुले बताएका छन् ।
विप्लव २०७० सालदेखि निरन्तर निर्वाचन बहिस्कार गर्दै आएका थिए । यसअघिको स्थानीय निर्वाचनमा उम्मेदवारी दिए पनि केही सिमित वडा सदस्य बाहेक एक सिट जित्न सकेको थिएन । तर, यस निर्वाचनमा विप्लव आफै रोल्पाबाट निर्वाचन लड्ने रहर गरेका थिए । अन्तिममा निर्वाचन हार्ने अवस्था देखेपछि चुडामणि ओलीलाई निर्वाचन लडाएका थिए । पछि निर्वाचनमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा नेताहरु निर्वाचनमा गएका थिए । विश्वकर्मा सहित सबै नेताहरु पराजित भएपछि के गर्छन भन्ने प्रश्न उठेको छ ।
नेकपा अध्यक्ष प्रचण्डले एकतामा ल्याउन धेरै प्रयास गरेका थिए । विप्लवले प्रचण्डलाई नेतृत्व छोडेर आफूलाई हस्तान्तरण गर्न आग्रह गरेपछि एकता हुन सकेको थिएन् । आफूलाई शक्तिशाली नेताको रुपमा लिने विप्लव यस निर्वाचनमा शुन्य भएपछि कसरी अगाडि बढ्छन् भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।
यस्तै प्रलोपाका संरक्षक जनार्दन आफ्नै पूर्व सहकर्मी गोपाल शर्माले रुकुम पश्चिमबाट हराएपछि नराम्रोसँग धक्का खाएका छन् । २०६४ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका थिए । यस निर्वाचनमा पराजित भएपछि संसदीय राजनीतिको पूर्ण विराम लागेको छ । आफू स्वतन्त्र भए पनि एक्लै चुनाव जित्ने चुनौति दिएका जनार्दनलाई रुकुमका जनताले पराजित गरेर पठाएका छन् । जनार्दन अब आफ्नो राजनीतिलाई कसरी अगाडि लग्छन् भन्नेमा महत्वका साथ हेरिएको छ । यदी जनार्दनले चुनाव जितेको भए अर्कै अवस्था हुन्थ्यो । अब निर्वाचन हारेपछि पुराना पार्टीमा फर्किन उत्तिकै गाह्रो हुन सक्ने धेरैले आकलन गरेका छन् ।
जेनजी आन्दोलनपछि भएको निर्वाचनमा नेकपा समेत साना आकारमा खुम्चिएको अवस्थामा पूर्व माओवादी घटकलाई एकतामा ल्याउने प्रचण्डका लागि अवसर भएको कतिपय नेताहरु बताउँछन् । यसरी पुनगर्ठन गर्दा पनि माहोल फर्काउन सकस पर्न सक्ने धेरैको बुझाई छ ।
तर, कम्युनिस्ट आन्दोलन पुर्नगठन नगरेमा आगामी दिन अझ संकटपूर्ण अवस्था आउन सक्ने देखिएका छन् ।