इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
मत परिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरी अग्र स्थानमा छन् ।
नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ ।
त्यस्तै, नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोकुलबहादुर राई दुई हजार २२४ मतका साथ चौथो स्थानमा छन् ।
अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिए । त्यसपछि देउमाई र इलाम नगपालिकाको मतगणना गरिने छ ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो । निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्यासी छन् ।