काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) निर्वाचनको मुखमै छिन्नभिन्न भएको छ । फागुन २१ गतेको चुनाव हुन तीन दिन मात्रै वाँकी हुँदा पार्टीका उम्मेदवारले रमिता देखाएका हुन् । चुनावको मुखमा पार्टी एक ढिक्का नहुँदा उम्मेदवारलाई निर्वाचन जित्न कठिन भएको हो ।
प्रलोपका उम्मेदवारले नेपाली कांग्रेसदेखि लिएर नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मधेस केन्द्रीत दलसम्मलाई समर्थन जनाएका छन् । पार्टीको घोषित नीति नहुँदा पार्टीका अधिकाश उम्मेदवार आफू अनुकुल विभिन्न पार्टीलाई समर्थन जनाउने गरेका हुन् । कतिपय प्रलोपाका उम्मेदवार नेकपा, रास्वपा, कांग्रेस लगायत दलमा प्रवेश गरेका छन् । एकाध उम्मेदवार कुनै पार्टीमा प्रवेश नगरेर उम्मेदवारी निष्क्रिय बनाएका छन् ।
पार्टीका संरक्षक बाबुराम भट्टराई र जनार्दन शर्मादुबै जना प्रतिनिधि सभा उम्मेदवार भएका थिए । बाबुराम गोरखा २ बाट र शर्मा पश्चिम रुकुमबाट उम्मेदवारी दिएका थिए । पार्टीमा कुनै छलफल नगरेर भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि नेताहरुले असन्तुष्टि पोखका थिए । शर्माले निर्वाचन जित्न एमालेसँग चुनावी तालमेल गरेका छन् । पार्टी एक ढिक्का नहुँदा शर्मालाई चुनाव जित्न चुनौति थपिएको छ ।
पार्टीका अध्यक्ष परिषदका सदस्य सन्तोष परियार, सुदन किराती, दुर्गा शोव कतै चुनावी प्रचारमा देखिएनन् । पार्टीको नेतृत्वमा बसेकाहरु चुनाव अवधिभर निष्क्रिय भई बसेका छन् । पार्टीमा असन्तुष्टी चुलिँदा किराती नेकपा प्रवेश गर्ने हल्ला चलेको थियो । अन्तमा किरातीले कुनै पार्टी प्रवेश नगरेको प्रष्टीकरण समेत दिएका थिए ।