काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूमाथि कानूनभन्दा अनुमान र एकतर्फी भनाइलाई आधार बनाएर दोषी ठहर गरेको दाबी गरेका छन् ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछानेले आफ्नो सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै अनुमानको भरमा दोषी प्रमाणित गर्ने काम भएको बताएका हुन् ।
लामिछानेले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् । उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।
‘मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसेँ, कानूनी व्ययवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्य, न प्रमाण, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ,’ उनले भनेका छन् ।
लामिछानेले आफूविरुद्ध घटना घटेको नभई घटाइएको दाबी गरेका छन् । ‘म यो घटनाको निर्दोष पात्र हुँ, मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ, त्यसमा तपाईंहरूको पनि सहभागिता छ, धेरै खोल्न बाँकी छ, फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो,’ उनले लेखे ।
उनले सामाजिक अभियन्ताहरूलाई चुनौती दिँदै आफू र गौशाला २६ बीचको सम्बन्ध प्रमाणित गरे फाँसीमा चढ्न तयार भएको बताए । ‘ती तथाकथित र भनौदा सामाजिक अभियन्तालाई मेरो खुल्ला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध तथ्य र प्रमाणले साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दैन,’ उनले थपे ।