चितवन । भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।
लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए ।
हाल यहाँबाट दैनिक आठ वटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ । जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ ।
उनले हाललाई लिमिटेडको सिनामंगल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको जानकारी दिए ।
यहाँबाट दैनिक भरतपुर-काठमाडौं-भरतपुर र आंशिक रुपमा भरतपुर-पोखरा-भरतपुर उडान हुँदै आएको छ । बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए ।
‘अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौँबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ,’ उनले भने ।