काठमाडौँ । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का अध्यक्ष पुष्प ओलीले आगामी निर्वाचनलाई लक्षित गरी ‘अर्धसैनिक बल’ ब्यूँताउने बताएका छन् ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले खबर विन्दुलाई बताए । आइतबार बसेको वाईसीएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले आफ्नो अर्धसैन्य संरचना व्यूँताउने निर्णय गरेको हो।
निर्वाचनमा हुन सक्ने धाँदली रोक्न र निष्पक्ष वातावरण बनाउन यस्तो कदम चालिन लागिएको उनको दाबी छ । अर्धसैनिक बलको स्वरूप र कार्यक्षेत्रबारे स्पष्ट पार्दै अध्यक्ष ओलीले भनेका छन्स् ‘ओलीका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा वाईसीएलका क्याम्पहरू स्थापना गरिनेछ। यस बलका सदस्यहरू सामूहिक रूपमा क्याम्पमै बस्नेछन् ।’
उनका अनुसार यो जनमुक्ति सेना (पीएलए) जस्तो होइन, निर्वाचन केन्द्रित भूमिका हुने भन्दै यसबारे ओलीले स्पष्ट पारे, ‘यसको मुख्य काम निर्वाचनलाई सहयोग गर्ने, कतै धाँदली हुन नदिने र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गराउन राज्यलाई मद्दत गर्ने हो।’
प्रस्तावित अर्धसैनिक संरचनामा विभिन्न पुस्ताका युवाहरूलाई समेटिने बताइएको छ। जसमा पूर्व जनमुक्ति सेना (लडाकु), पूर्व विद्यार्थी नेताहरू, जेन्जी युवाहरू सहभागी हुन्छन् । ‘यो निर्वाचनसम्मका लागि मात्र केन्द्रित हुनेछ र यसले पूर्णतः राज्यको संयन्त्रलाई सघाउने उद्देश्य राख्नेछ,’ ओलीले दाबी गरे।
अन्तरपार्टी यूवा, विद्यार्थी र जेन्जी यूवा संयोजन गर्न सम्यन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका यूवा संगठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए । एक वुथ सय यूथ सबै वुथ केन्द्रमा खटाइने, सामाजिक संजालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका यूवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ ।
यस्तो छ ओलीको भनाईः
अर्धसैनिक संरचना ब्यूँताउने भनेको पहिला हामी जसरी क्याप बनाएर बस्थ्यौँ । त्यसरी नै १६५ वटै जिल्लामा क्याम्प बनाएर बस्ने हो । यो जनमुक्ति सेना जस्तो हतियारबद्द चाँही हुँदैन । निर्वाचनलाई सहयोग हुने गरि कतै धाँदली हुन नदिने र निष्पक्ष ढङ्गले चुनाव गराउनका लागि अर्धसैनिक ब्यूँताउँने भनेको हो ।
राज्यलाई सहयोग गर्ने गरी यसको काम हुन्छ । यो निर्वाचनसम्मका लागि निर्वाचन केन्द्रित हुन्छ । यसमा हाम्रो बसाई सामुहिक हुन्छ । यस बलमा पूर्व जनमुक्ति सेना, पूर्व लडाकुहरु, विद्यार्थी, जेन्जी यूवा सबै खालका युवाहरु समावेश हुन्छ ।