दाङ । सामाजिक न्याय, जनअधिकार, भ्रष्टाचारविरुद्धको निर्भीक संघर्ष र राष्ट्रियताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका युवा नेता प्रकाश शाही दाङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।
राज्यद्वारा प्रतिबन्धित कठिन कालखण्डमा तत्कालीन अखिल (क्रान्तिकारी) र हाल अखिल (समाजवादी) को केन्द्रीय सदस्य, महासचिव हुँदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै संगठनको केन्द्रीय कमाण्ड नेतृत्व गरेका शाही जनआन्दोलनबाट खारिएका नेता हुन्।
सेवा र सामाजिक प्रतिबद्धता
२०७१ सालदेखि नै ‘जन्मदिन केक काटेर होइन, सेवा गरेर मनाउने’ अभियान सञ्चालन गर्दै शाहीले दाङ रामपुर क्षेत्रको बालिमखोला नजिकका अनाथ वृद्धवृद्धा दम्पत्तिहरूको आवास निर्माणमा सहयोग गरेका थिए। थवाङ माध्यमिक विद्यालय विस्तारका लागि १५ दिन जनश्रमदान गर्दै विद्यालय भवन निर्माणमा योगदान पुर्याएका उनी २०७२ सालको विनाशकारी भूकम्पपछि गोरखा जिल्लाको बारपाक, मकैबारी र घ्याचोकमा एक महिनासम्म जनसेवामा खटिएका थिए।
भ्रष्टाचारविरुद्ध जेल जान पनि नडराउने नेतृत्व
२०७२ चैतमा दाङको प्रगन्ना कार्यालयमै घुससहित भ्रष्ट इन्जिनियर रामदुलारीलाई पक्राउ गराउन भूमिका खेलेका शाहीले भ्रष्टाचारविरुद्ध निर्भीक उदाहरण प्रस्तुत गरेका थिए।
२०७३ साल पौष ७ गते तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो प्रकरणमा विरोध जनाउँदा उनले एक महिना जेल जीवन बिताए।
एनसेल कर छलि, वाइडबडी, सेक्युरिटी प्रिन्टिङ जस्ता ठूला घोटालाविरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका शाही मेडिकल माफियाले विद्यार्थीमाथि गरेको आर्थिक शोषणविरुद्ध काठमाडौं, पोखरा, भैरहवा लगायत देशव्यापी आन्दोलनका अगुवा बने।
किसान, भूमिहीन र पीडितको पक्षमा अग्रपंक्तिमा
देउखुरी क्षेत्रमा भूमिहीन र किसानको पक्षमा उभिँदै मौरिघाट क्षेत्रमा ४८ जना अधियाँ किसानलाई जमिन दिलाउन निर्णायक भूमिका खेलेका शाहीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण, पश्चिम रुकुम सोतिमा दलित युवा नवराज विकको हत्या लगायतका घटनाविरुद्ध देशव्यापी प्रदर्शनको नेतृत्व गरेका थिए।
केन्द्रीय अध्यक्ष रहँदा धादिङको विकट च्यात्र गाउँमा सहादत प्राप्त नेता प्रज्वल शाहीको स्मृतिमा प्राथमिक विद्यालय स्थापना तथा सञ्चालन गराउनु उनका स्मरणीय योगदानमध्ये एक हो।
राष्ट्रियताको सवालमा अग्रमोर्चामा
लिपुलेक, कालापानी र सुस्ता अतिक्रमणविरुद्ध देशव्यापी आन्दोलनको नेतृत्व गर्दै चितवनको सोमेश्वरगढीमा १०० मिटर काँडेतार लगाएर सांकेतिक विरोध गरेका शाही एमसिसी सम्झौताविरुद्ध २०७८ मंसिरदेखि फागुन १५ सम्म माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर आन्दोलनको अगुवाइमा रहे।
जनतासँग जोडिएको सक्रिय राजनीति
२०८० असारमा राप्ती गाउँपालिकाको कुलो मर्मतमा भएको राजस्व हिनामिना प्रकरणमा सिडिओदेखि स्थानीय नेतासम्मको मिलेमतो सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाएका शाही नारायणहिटी, बालुवाटार र बासबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनाविरुद्ध राज्यको पक्षमा जमिन फिर्ता अभियानमा सक्रिय रहे।
भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरूविरुद्ध प्रदर्शन गर्दा २०८० मा गिरफ्तार परेका उनी जाजरकोट भूकम्प पीडितका लागि राहत संकलन गरी आफैं जाजरकोट पुगेर वितरणमा जुटिए।
दाङ देउखुरी, खाडी मुलुक तथा वैदेशिक रोजगारीमा समस्यामा परेका दर्जनौं नागरिकको उद्धार तथा सहयोग, भालुवाङस्थित सशस्त्र प्रहरीद्वारा बालिका बलात्कार प्रकरणमा दोषी पक्राउ गराउन आन्दोलनको नेतृत्व, तथा लुम्बिनी प्रदेश राजधानी क्षेत्रको मरुदण्ड सडक चार लेन बनाउन संघदेखि स्थानीय तहसम्म दबाब सिर्जना गर्नु उनका पछिल्ला संघर्ष हुन्।
रसिया, भेनेजुएला लगायतका अन्तर्राष्ट्रिय मंचमा पुगेर नेपाली विद्यार्थी आन्दोलनबारे धारणा राखिसकेका शाही राष्ट्र संकटमा पर्दा देशभक्त अभियानमार्फत एकताको सन्देश दिँदै आएका छन्।
जनताको भरोसामा चुनावी मैदान
यिनै संघर्ष, सेवा र जनताको पक्षमा उभिएको इतिहासका आधारमा पार्टीको प्रस्तावमा प्रकाश शाहीको उम्मेद्वारी अघि सारिएको जनाउँदै उनले नेकपा (माओवादी) दाङ जिल्ला पार्टीप्रति विशेष आभार व्यक्त गरेका छन्।
आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा राष्ट्रियता, जनजीविका, प्रदेश राजधानी क्षेत्रको सडकसहित भौतिक पूर्वाधार विकास, स्थानीय अर्थतन्त्र सुदृढीकरण र युवाको समग्र विकासका मुद्दासहित जनताबीच जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।