बाँके–३ मा ‘टुरिस्ट उम्मेदवार’ नचाहिने भन्दै तरुण दलद्वारा कांग्रेस कार्यालयमा तालाबन्दी

0 Shares

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा ‘टुरिस्ट उम्मेदवार’ स्वीकार्य नहुने भन्दै नेपाल तरुण दल, क्षेत्र नम्बर ३ ले नेपाली कांग्रेस बाँकेको मूल गेटमा तालाबन्दी गर्दै धर्ना दिएको छ।

स्थानीय कार्यकर्ता र नेताहरूको सहभागितामा गरिएको धर्नामा क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नभएका, चुनावका बेला मात्रै देखिने उम्मेदवारलाई टिकट नदिन पार्टी नेतृत्वसँग माग गरिएको छ। उनीहरूले बाँके–३ को भूगोल, समस्या र जनताको भावना नबुझेका व्यक्तिलाई उम्मेदवार बनाइए पार्टीभित्रै कडा प्रतिरोध हुने चेतावनीसमेत दिएका छन्।

धर्नामा सहभागी तरुण दलका नेताहरूले लामो समयदेखि पार्टीका लागि योगदान दिएका स्थानीय, जनआधार भएका र जनताको सुख–दुःखमा सधैं साथ दिएका व्यक्तिलाई मात्र उम्मेदवार बनाउनुपर्ने बताएका छन्। ‘चुनाव नजिकिँदा मात्रै आउने टुरिस्ट उम्मेदवारले जनताको प्रतिनिधित्व गर्न सक्दैनन्,’ उनीहरूको भनाइ थियो।

तालाबन्दीका कारण केही समय पार्टीको जिल्ला कार्यालयमा आवतजावत प्रभावित भएको थियो। तरुण दलले पार्टी नेतृत्वले आफ्नो मागको सुनुवाइ नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।

यस विषयमा नेपाली कांग्रेस बाँके जिल्ला कार्यसमितिको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। तरुण दलको यो कदमले बाँके–३ को उम्मेदवार चयन प्रक्रियामा दबाब बढाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित समाचार