अपि पावरको साधारणसभा सम्पन्न: लाभांश वितरण, हकप्रद निष्काशन प्रस्ताव पारित

0 Shares

काठमाडौँ । अपि पावर लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज कम्पनीकी अध्यक्ष सिर्जना खड्काको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गरेको छ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ६३७.९७ करोडको १ शेयर बराबर ०.३० का दरले हुने रु. १९१.३९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मे.वा. क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै सभाले बोनश शेयर तथा हकप्रद शेयर जारी गर्दा पूँजी संरचनामा बृद्धि हुने भएको हुँदा सो प्रयोजनका लागि प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। साथै बोनश शेयर तथा हकप्रद शेयर जारी गर्नको लागि नियामक निकायमा गर्नु पर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

कम्पनीले लगानी व्यवसाय विस्तार गर्ने हेतुले पूर्ण स्वामित्व रहने गरी स्थापना गरेको अपि होल्डिङ्गस कम्पनी लिमिटेडमा हालसम्म भएको स्वपूँजी लगानी अनुमोदन तथा थप स्वपूँजी लगानी गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। सभाले कम्पनीको गाडी, स्क्राप लगायत अन्य सम्पत्तिहरु बिक्रि गर्नुपरेमा कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

सभामा शेयरधनीले राखेका जिज्ञासाबारे कार्यकारी संचालक संजिव न्यौपानेले जवाफ दिएका थिए ।

सम्बन्धित समाचार