काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने गरी तयारी तीव्र बनाएको छ । सुरक्षा निकायदेखि निर्वाचन आयोगसम्म चुनावी तयारीमा लागिरहँदा दलहरूले पनि आ-आफ्नो उम्मेदवार छनोट गरेको छ ।
दलहरूले समानुपातिकतर्फको उम्मेदवार सिफारी गरेसँगै प्रत्यक्षबाट आफ्नो उम्मेदवार छनोटमा केन्द्रीत भएका छन् । जसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट आगामी निर्वाचनमा नयाँ अनुहार चुनावी मैदानमा होमिने भएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोली पदच्युत भएसँगै देश मध्यावधि निर्वाचनमा पुगेको हो । जेनजी आन्दोलनबाट देशको राजनीति नयाँ परिस्थितिमा होमिएसँगै नयाँ अनुहार चुनावी मैदानमा होमिने भएका हुन् ।
नेकपाबाट आगामी निर्वाचनमा तत्कालीन माओवादीको विद्यार्थी राजनीतिबाट उदाएका लेखनाथ न्यौपाने गोरखा २ बाट सिफारिस भएका छन् । विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीका अध्यक्षदेखि पार्टी राजनीतिमा होमिएका उनले अहिलेसम्म कुनै सरकारी पदको लाभ लिएका छैनन् । आफूलाई बौद्धिक नेताका रुपमा स्थापित गराएका उनी आगामी निर्वाचनमा होमिन नयाँ अनुहार हुन् ।
गोरखा २ बाट प्रतिनिधिसभामा सिफारिस भएसँगै न्यौपानेले पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् । उनको क्षेत्र नेकपाको प्रभावित रहेको छ । विं.सं. २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।
यस्तै, अखिल क्रान्तिकारीका अर्का पूर्वअध्यक्ष रञ्जित तामाङ झापा क्षेत्र ५ बाट सिफारिस भएका छन् । पूर्वमाओवादीको झापा जिल्ला समितिको इन्चार्जसमेत रहेका उनी अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । उनी सिफारिस क्षेत्रमा एमाले अध्यक्षसमेत रहेका ओलीले पनि चुनाव लड्दै आएका छन् । उनी यस क्षेत्रबाट पटक-पटक विजयी हुँदै देशको नेतृत्वदायी भूमिकामा पुगेका छन् । जेनजी आन्दोलन हुँदा उनी प्रधानमन्त्री थिए ।
नेकपाबाट चुनावी मैदानमा होमिएका अर्का नयाँ अनुहार हुन्, मिलन एमसी । उमेर हदले अखिल क्रान्तिकारीको केन्द्रीय उपध्याक्षसँगै प्रवक्ताको जिम्मेवारी सम्हालेर बाहिरिएका उनी प्युठानबाट सिफारिस भएका हुन् । नेकपाले उनलाई आगामी निर्वाचनका लागि ४० वर्ष मुनीका युवातर्फबाट सिफारिस गरेको हो । जेनजी आन्दोलनको प्रभाव रहँदा उनी प्रमुख दाबेदारका रुपमा छन् ।
विद्यार्थी संगठनको केन्द्रीय सचिव, उपमहासचिव हुँदै उपाध्यक्ष बनेका उनी पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । प्युठानको झिमरुक गाउँपालिका निवासी उनले स्पष्ट वक्तासँगै नेतृत्ववान नेताका रुपमा आफूलाई स्थापित गराएका छन् । पछिल्लो समय आफ्नो चुनावी क्षेत्रमा राजनीतिक गतिविधि गर्दै आएका उनी आफ्ना मतदाताको सेवामा तल्लिन छन् ।
विं.सं. २०७४ तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले एकता हुँदा उनी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निकट थिए । यसैबीच सर्वोच्च अदालत ३३ महिनापछि यी दुई पार्टीलाई ब्यूँताएपछि उनी माओवादीमा बसेका थिए । आफू निकट नेता बादललाई छाडेर माओवादीमा बसेका उनले पार्टी संगठन विस्तारमा खटिदै आएका थिए ।
यसैगरी काठमाडौं १ बाट अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापा सिफारिस भएका छन् । उनी गत फागुनमा भएको क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा विजयी भएका थिए ।
उनी क्रान्तिकारीको वर्तमान नेतृत्वमा अध्यक्षनशील र तार्किक नेतामा स्थापित छन् । माओवादी र एमाले विभाजन भएपछि एमालेमा बसेर मन्त्री पदमा आसिन बादलसहित टोपबहादुर रायमाझीलगायतका ६ जना मन्त्रीविरुछ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमाथि फैसला गर्दा थापा, रायमाझीलगायतको मन्त्री पद गएको थियो ।
झापा क्षेत्र नं. १ बाट युवा नेता अशेष घिमिरे सिफारिस हुँदा अखिल क्रान्तिकारीमा उमेरहद लागेर अध्यक्षको उम्मेदावर बन्न बञ्चित क्रान्तिकारीका पूर्वउपाध्यक्ष नरेश रेग्मी दाङ ३ बाट सिफारिस भएका छन् । यनी पार्टीभित्र अध्ययनशील र तर्कशीलमा गनिन्छन् ।
पार्टी केन्द्रीय सदस्य तथा योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) नेपालको इन्चार्ज रामप्रसाद सापकोटा भक्तपुर २ बाट सिफारिस भएका छन् । उनी वाईसीएलका पूर्वअध्यक्षसमेत हुन् ।
अनेरास्ववीयुका पूर्वअध्यक्ष सुदेश पराजुली भोजपुर र काठमाडौं ६ दुई ठाउँबाट सिफारिस भएका छन् । यस्तै, काठमाडौं ७ बाट युवा संघका पूर्वउपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य फुर्वा तामाङ सिफारिस भएका छन् ।
मकवानपुर क्षेत्र १ बाट क्रान्तिकारीका पूर्वउपाध्यक्ष विजय गौतम सिफारिस हुँदा युवा संघका संयोजक नितेश पौडेल काठमाडौं २ बाट सिफारिस भएका छन् ।
वाईसीएलका अध्यक्ष पुष्प वली पनि दाङ ३ बाट सिफारिस भएका छन् । उनी गत जेठमा वाईसीएलको सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।
०५९ सालमा उनी विद्यार्थी संगठनमा पूर्णकालीन भई जनयुद्धमा सक्रिय सहभागी भए । ०६१ सालमा तत्कालीन माओवादीका उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रका जिल्लामा सक्रिय सहभागी भए ।
०६२ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही नगर निर्वाचन घोषणा गरे । त्यतिबेला उनी नगर निर्वाचन बिथोल्न माओवादी शसक्त रुपमा सहभागी हुँदा तनहुँको डुम्रेमा आन्तरिक रुपमा बम विस्फोट भई गम्भीर घाइते भएका थिए ।
उनको आँँखा, मुख, हात, खुट्टमा गोली लागेको थियो । उनी शरीरमा अहिले पनि गोलीका झर्रा बाकेर हिँडेका छन् । हाल सुवोध श्रीपालीको कार्यकालमा उपमहासचिव भई काम गर्ने अवसर पाए । अधिकांश वाइसिएल नेताहरू ४० वर्षे उमेर हद लागेर बिदा भएपछि ओलीले सर्वसम्मत अध्यक्ष बन्न अवसर पाएका हुन् । उनी पनि अहिलेसम्म कुनै सरकारी लाभको पदमा पुगेका छैनन् ।
यसैगरी, कास्की ३ बाट सिर्जना त्रिपाठी प्रत्यक्षमा सिफारिस भएकी छन् । उनी पनि अहीलेसम्म लाभको पदमा नजाने पूर्वमाओवादी भित्रकी युवामा पर्छिन् । कास्की १ बाट विनय थापा सिफारिस हुँदा मनहरी तिमिल्सेना पवर्तबाट सिफारिस भएका छन् । तिमिल्सेना लामो समय नेकपाका संयोजक प्रचण्डको सचिवालयमा काम गरेका हुन् ।
विश्वदीप पाण्डे रुपन्देही २ बाट प्रत्यक्षमा सिफारिस हुँदा गुल्मीबाट रवि कँडेल, पाल्पाबाट राजेन्द्र विक, रुपन्देही ३ बाट फजअहमद खाँ प्रत्यक्षमा सिफारिस भएका छन् ।
बाँके १ बाट नरेन्द्र पाण्डे सिफारिस हुँदा योगकुमार बरबरिया यादव धनुषा २ बाट सिफारिस भएका छन् । सिरहा ३ बाट विशुनदेव यादव र बाराबाट शिला खनाल सिफारिसमा परेका छन् ।
कैलाली क्षेत्र नंं ३ बाट प्रकाश मिश्र सिफारिस भएका छन् । उनी पूर्वमाओवादीको सुदूरपश्चिम प्रदेश समिति सदस्य हुन् ।
क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सल्यानबाट सिफारिस भएका छन् । उनी क्रान्तिकारीमा स्कुल पढ्दादेखि संगठित थिए । उनले पनि प्रचण्डको सचिवालयमा बसेर लामो समय काम गरेका छन् ।
जाजरकोटबाट क्रान्तिकारीका पूर्वउपाध्यक्ष रामदीप आचार्य सिफारिस हुँदा बझाङबाट कमल थापा सिफारिस भएका छन् । वाईसीएलका उपमहासचिव नरबहादुर विष्ट दार्चुलाबाट सिफारिस भएका छन् । उनीहरू सबै जना पहिलो पटक चुनावमा होमिने भएका हुन् ।