पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमाले कार्यकर्ता रास्वपा प्रवेश

0 Shares

काठमाडौं । गण्डकी प्रदेशको पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासहित नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

रास्वपाले शनिबार पोखरामा आयोजना गरेको पार्टी सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री खड्का, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी मिलन थापा, एमालेका पूर्व गण्डकी प्रदेश कमिटी सदस्य पुष्पराज अधिकारी लगायत नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्।

उनीहरुलाई रास्वपा उपसभापति स्वर्णीम वाग्ले, नेताहरु मनिष झा, कविन्द्र बुर्लाकोटी लगायतले स्वागत गरेका थिए।

पूर्वमन्त्री खड्का अखण्ड नेपाल पार्टीमार्फत राजनीतिमा आएका थिए। उक्त पार्टी कांग्रेसमा बिलय गराएपछि खड्कालाई कांग्रेसले समानुपातिक तर्फबाट गण्डकी प्रदेशको सांसद र मन्त्री बनाएको थियो।

गण्डकीकै सामाजिक विकासमन्त्री विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोपमा उनलाई कांग्रेसले पार्टीबाट निष्काशन गरेको थियो।

रास्वपा प्रवेश गरेकी मिलन थापा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट सामाजिक विकास मन्त्री बनेका विन्दुकुमार थापाको बुहारी हुन्।

लायन्स क्लबमा सक्रिय थापालाई यसअघि कांग्रेसले पोखरा महानगरको उपमेयरमा सिफारिस गरेको थियो। उनका श्रीमान ध्रुब थापा नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष हुन्।

जेनजी आन्दोलनका क्रममा थापाको अटो सोरुम प्रदर्शनकारीले जलाइदिएका थिए भने मन्त्री विन्दुकुमार थापाको बगैचा रिसोर्ट र अंशुभरा स्क्वायरमा पनि तोडफोड, लुटपाट र आगजनी गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा पोखराकै पूर्व पाइलट मदन केसी पनि रास्वपा प्रवेश गरेका छन्।

उनीहरुसँगै कास्की लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु रास्वपा प्रवेश गरेको पार्टीका प्रदेश महामन्त्री नवीन त्रिपाठीले जानकारी दिए।

सम्बन्धित समाचार