काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल बुकिङ गराएका छन् । नियमित महाधिवेशनको सम्भावना क्षीण भएपछि महामन्त्रीद्वयले आगामी पुस २७ र २८ गतेका लागि हल बुकिङ गराएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार पार्टी विधानतः विशेष महाधिवेशनको दिशामा अघि बढेकाले तयारी सुरु गरिएको हो । केन्द्रीय समितिले यसअघि तय गरेको १५ औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि यो कदम चालिएको उनले बताए ।
“कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन हुनुपर्ने थियो, तर हुन सकेन,” गौतमले भने, “त्यसैले अब विशेष महाधिवेशनको विकल्प छैन, सोही प्रयोजनका लागि हल सुरक्षित गरिएको हो ।”
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । पार्टी विधानअनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । सोही समयसीमालाई मध्यनजर गर्दै महामन्त्रीद्वयले प्रक्रिया अघि बढाएका हुन् ।
यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने नियमित कार्यतालिका परिवर्तन गरेर आम निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने पक्षमा उभिएको छ । नेतृत्वको यो अडान र महामन्त्रीहरूको सक्रियताले कांग्रेसभित्र आन्तरिक विवाद र ध्रुवीकरण थप बढ्ने देखिएको छ ।